Wednesday, December 28, 2016

राष्ट्र भाषा मातृभाषा

नेपाल एकिकरण भन्दा पहिले बाइसे-चौबिसे आदि राज्यहरुमा हिन्दु, बौद्ध धर्मालम्बी थिए । प्रत्येक राज्यमा आफ्नै किसिमको कानुनी व्यवस्था, संस्कृति रहि आएको थियो । एकिकरण पश्चात नेपाल स्थिर राज्यको रुपमा प्रतिष्ठित भयो । त्यसपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एउटै किसिमको राष्ट्र भाषा र प्रशासनको अनुभव गरी श्री ५ पृथ्वीनारायण शाह र वहाँका उत्तराधिकारीहरुद्वारा सम्पूर्ण अधिराज्यलाई पौराणिक नेपाल नाउ दिए ।

नेपालका बहुसंख्यक जनताद्वारा बोलिने नेपाली भाषालाई नै सरकारी कामकाजको भाषा बनाइयो । राष्ट्र भाषाको रुपमा स्थापित गरिएको र भारतवर्षमा व्यापक देवनागरी लिपीलाई नै सरकारी लिपी बनाइयो ।  त्यसैलाई व्यवहारमा ल्याउदा नेपाल भित्र बोलिने एक सय भन्दा बढी भाषाहरु मध्ये पनि आज नेपाली भाषा जनको बोलिने र बुझ्ने भाषा बनेको छ ।

अंग्रेजी शासनपछि स्वतन्त्रता कारण भारतले त्रिमाणा फर्मुला अपनाएर प्रत्येक राज्यको आफ्नो भाषा र राष्ट्र भाषा हिन्दी र सरकारी लेखपढको भाषा अंग्रेजीबाट काम चलाउनु परेको थियो । तर नेपालमा व्यवहारमा स्थानीय भाषा र सरकारी कामकाजमा नेपाली भाषाको आवश्यकता पर्ने भएपनि राष्ट्र भाषा नेपालीबाट मात्रै पनि काम चल्ने स्थिति रह्यो । त्यसकारण नेपालमा बोलिने भाषाहरुमा भोटे, नेवारी, थकाली, राइ, लिम्बु आदि समुदायको भाषालाई चाइनिज, तिब्बती अर्थात हिमाली भाषाको नाम दिइएको र बहुसंख्यक नागरिकहरुको बोल्ने भाषाहरु भोजपुरी, मैथिली, अवधी, डोटेली, थारु, जुमसी आदि भाषाहरुलाई भारोपेली भाषा अन्तर्गत राखिएको छ । र यो भाषा बहुसंख्यक जनताहरुबाट बोलिने भाषा भएकाले पनि यसको विस्तार हुन सक्छ । त्यसमा पनि नेपाली विद्धानहरुले राष्ट्र भाषा नेपालीमा उत्कृष्ट रचनाहरु, पत्रपत्रिका, पुस्तकहरु प्रकाशन गरि दिएकाले नेपाली भाषा आज राष्ट्र भाषा मात्र नभै आम जनताको प्रिय भाषा बनिसकेको छ ।

एक समय हिन्दी भाषालाई पक्की भाषा र नेपाली भाषालाई कच्ची भाषा भन्ने चलन पनि थियो । तर वर्तमान नेपाली भाषा पनि हिन्दी भाषा भन्दा साहित्य रचनाहरु समेतमा कम छैन । यसकारण अब कच्ची र पक्की भन्ने द्विविधात्मक संज्ञा रहेन । तैपनि भाषा नविकरणको नाममा केही व्यक्तिहरुले भाषालाई बिगार्ने दुष्प्रयास पनि गर्न छोडेका छैनन् । सायद यस्तै गरी भाषा बिग्रन लागेको तर्फ नेपालका विशेषज्ञहरुको विरोधमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट छापिएका शब्दकोषलाई फिर्ता लिनु परेको छ ।

माथी उल्लेखित भारोपेली भाषाकी जननी संस्कृत भाषा रहेको र संस्कृतका आदि विद्वानहरुले संस्कृत भाषाको सिद्धान्त र मार्गदर्शन गरिसकेका छन् । अब केही व्यक्तिहरु आफ्नो विद्धता दर्शाउन अवैज्ञानिक रुपले प्रचलित नियम भंग गरी आफ्नो विचार लाद्न चाहन्छन् । जसले उन्नतिको ठाउँमा भाषाको अवसान गराउछ ।

नेपालमा प्रचलित अरु भाषाहरुको कुरा छोडौं केवल आफ्नो स्थानीय भाषा डोटेली भाषा परिवारको कुरा गरौं । सुदूरपश्चिममा बोलिने भाषाहरुमा ‘अ-यो, ग-यो’ जस्ता केही सामान्य विभेद भए पनि सबै भाषाहरु भारोपेली भाषा अन्तराात हुनाले परम्परागत सम्बाद गर्दा आ–आफ्नो भाषामा कुरा गरे पनि दुबै थरीले बुझ्न सक्छन् । र लिपी सबैको देवनागरी नै हो ।

हालका दिनहरुमा भाषाप्रेमीहरुले यस डोटेली भाषा परिवारका भाषाहरुमा पनि विभिन्न उत्कृष्ट पुस्तकहरु लेखी प्रकाशित भइ सकेका छन् । शब्दकोषसमेत प्रकाशित भइसकेको छ । केही पत्रपत्रिकाहरु पनि प्रकाशित छन् । तर भाषा लेखनको स्थिरता हुन नपाउँदै एउटा प्रतिष्ठित डोटेली भाषाका मासिक पत्रिकाले केही व्यक्तिहरुका लहलहैमा स्थानीय भाषालाई अंग्रेजीको रोमन जस्तै शैलीमा लेख्ने पढ्ने कथित प्रयास भइरहेको छ । यसबाट भाषालाई केही अवरोध आएपनि यो खेलवाड विद्धान सम्पादक महोदयको लागि उपहास हुन सक्ने कुरा बुझी मान्यता विपरीत भाषा बिगार्ने काम नहोस भन्ने आसय छ ।

अन्तमा देवोक्ती छ, ‘मातृभाषा, मातृसंस्कृति  र मातृभूमि, यी तीन देवीहरु कल्याणकारी हुन ।’

इति !!

No comments:

Post a Comment