Saturday, December 5, 2020

खौ को ?


सोट्टाका डुबका अहा कति मिठा छाँछ बकली होइबरे,
तितौडा, सोट्टा, गहत, मुसुरको दाल छाँछ चूक हालिबरे ।

धनियाँ, दाडिम, आमकी चटनी लै दालभातसित होइबरे,
फाइवस्टार होटल नाँ गरन्याँ खानाइ सब खाइबरे ।।

घोगा गौंका रोटा फुल्क्या पन्याँ सय्या छाँछीबटुक खीर लै,
माणा झुनझुन्याँ पुरी बटुक सेल राइतो घिऊ दूध दै ।

नेथीको पलेउ माण कोइरालोः भुट्याकी छाँछ पाइया,
मोटो चावल लै बडो मिठो हुन्याँ थपी थपी आइन्थ्याँ ।।


अम्बा, आम, अनाँर, मिणा चिउराका केला, आरु सुन्तला,
स्याउ, नास्पाती, मौसमी, वनका ऐँस्याल लै किर्मडी ।

लौकी तोरिया सिमी आलु कदु पिणौं भिण्डी करेला चोतो,
रायो चन्सुर पालङो बेथु गोभी खुर्सानी हरियो तोडो ।।


मानव जीवनलाइ स्वाद पौष्टिक दिन्याँ अनेक बस्तु छन्,
प्रकृतिले उपहार यो सरलता पुर्याइ दिइन् ।

सौगात यो सब उपलब्ध होइबरे लै जिबडाको थप स्वादको,
आफुइ झाः पशुपन्छि प्राणी हत्त्या गरनु महापाप हो ।।

(आत्मराम ओझा स्मृति ग्रन्थबाट)




Sunday, October 11, 2020

महेन्द्रनगर दर्शन


 

 

 

 

 

 


नेपालको महाकाली अञ्चल तथा जिल्ला कञ्चनपुरको ।
यो हो सदरमुकाम महेन्द्रनगरी सुप महाँ पर्छ जो ।। 

सम्वत् दुई हजार बीसतिर यो बसाइएको शहर ।
ध्यान राखेर बनाइएछ पछिको जनचापको यो लहर ।।

गौचरभूमि त छैन एक टुडिखेल बसपार्क दुइटा अब ।
बाँकी भूमि नगर विकास संस्था अधीनमा पर्दछ ।।

उन्नाइस वार्ड गरी महेन्द्रनगरी भयो नगरपालिका ।
समावेश छ गाउँ क्षेत्र, सुविधा बिजुली र पानी बस ।।

यहाँबाट नजिक छ पुल बनबसा बस चल्छ भारत भरी ।
जीप बसमा काठमाडौंबाट दिल्ली बस बाटा छ यो छोट्करी ।।

चौडा पक्की सडक सफा चम्किला चौमञ्जिला घरहरु ।
आकर्षक रंगले रजाइ एकसे एक देखिन घरहरु ।।

जापानी, चीनियाँ र भारतीय औ हङकङ सिंगापुरी ।
अमेरिकी र बेलायती सहितका सामान नेपाली पनि ।।

ठसाठस गरि मोल ग्राहकहरुलाई आकर्षित गरी ।
ब्यापारीहरु बस्छन् बालिष्टहरुमा अडेस ली बेसरी ।।

अंग्रेजी मिडियमका स्कुल बहुतै संस्था र व्यक्तिगत ।
हाइस्कुल सरकारी छन् अनि ठूलो विज्ञानको क्याम्पस ।।

मानविकी पनि एक क्याम्पस ठूलो, संस्कृत विद्यालय ।
यसमा मिल्दछ छात्रवृत्ति पढ्दा यो काम भने स्तुत्य छ ।।

दक्षिण भारत देश पर्दछ सीमा नदी महाकालीको ।
पारी तर्फ पनि छ गाविस दुई भूभाग नेपालको ।।

(साभार : कञ्चन रैबार, २०५८ असोज वर्ष १ अंक १, नेपाल निजामति कर्मचारी संगठन, जिल्ला कार्यसमिति कञ्चनपुर)


Tuesday, July 28, 2020

महर्षि वेदव्यासको कर्मभूमि


नेपाल र भारत राजनीतिक रूपले अलग अलग राष्ट्र भएपनि सांस्कृतिक रूपले भने दुवै देशमा एकता छ। यसका लागि दुवै देशका धर्म प्राण हिन्दु जनताको छिमेकी देशको तीर्थाटनको निरन्तरता सृष्टि कालदेखि अहिलेसम्म यथावत् रहिआएको छ।

तैपनि महात्मा गौतम बुद्धको जन्मभूमि सम्बन्धमा होस् अथवा प्रथम सगरमाथा (एभरेस्ट) आरोहीको मामिलामा होस् भारतका केही पत्रपत्रिका नेपाली क्षेत्रका विशेषतालाई आफ्नो क्षेत्रमा रहेको लेख्न संकोच गर्दैनन्।

यसै सिलसिलामा चार वेदका सम्पादनकर्ता एवं अठार पुराण तथा महाभारत ग्रन्थसमेतका निर्माता भगवान द्वैपायन वेदव्यासलाइ पनि भारतीय क्षेत्रकै उत्पत्ति भनेर भारतीय समाचारहरुमा आउने गरेका छन्। नेपालको एउटा टिभी प्रसारणमा श्री वेदव्यासको जन्मभूमि नेपालको तनहुँ दमौलीमा भएको र उनका पिता महर्षि परासर र वेदव्यासको गुफा अहिलेसम्म विद्यमान रहेको तथा वेदव्यासको १०८ फुट अग्लो मूर्ति निर्माण गरिने भएको खबर प्रशारण भएको थियो। उक्त प्रशारणमा वेदव्यासले १८ पुराण पनि दमौलीमा नै बसी लेखेका थिए भन्नेसमेत उल्लेख थियो।

आफ्नो देशका महान् विभूतिहरुको परिचय देश विदेशमा दिइरहनु प्रशंसनीय कुरा हो, तर अधुरा समाचारहरुले भ्रममात्र सिर्जना गर्छ। वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हुनसक्छ, तर उहाँबाट रचित पुरानादी ग्रन्थहरु दमौलीमा बसेर लेखेका भन्ने कुनै प्रमाण प्रस्तुत भएन। महाभारत ग्रन्थमा वेदव्यासले हिमालय कैलाशतर्फ गमन गरेको यस श्लोकले पनि पुष्टि गर्छ ।

स्वस्तिस्तेस्तु गमिस्यामी कैलाश पर्वतप्रति।
अप्रयस स्थिरोदान्त प्रिथिव्याम परिपालय।।


(महाभारत सभा पर्व, कल्याण अवतार अंकबाट)

महाभारत युद्धपूर्व कौरवहरुले पाण्डवहरुलाई राज्य अंश नदिने हठ गरेका कारण उत्पन्न अवश्यम्भावी युद्धमा क्षत्रीयहरुको महाविनाश हुनसक्ने भविष्य आंकलन गरी आमा सत्यवतीसहित व्यासले कैलाश पर्वततर्फ गमन गर्नुभएको स्पष्ट छ। कैलाश गमनको सिलसिलामा उहाँ दार्चुला जिल्लाअन्तर्गतका ठाउँहरुमा बस्नुभएको प्रमाण विद्यमान छन्।

दार्चुला जिल्लामा व्यास गुफा नामक एउटा विशाल गुफा (कन्दरा) छ, जसमा बसेर वेदव्यासले भनेअनुसार गणेशजीले पुराणादि लेख्नुभएको थियो भन्ने कथा पनि छन्। प्राचीनकालमा भोजपत्रहरुमा लेख्ने गर्थे। यसैअनुरूप दार्चुलाकै विशाल भोजपत्रको जंगलबाट ठूलाठूला ताउ भोजपत्रहरु निक्लने हुनाले त्यसबाट निकालिएका भोजपत्रका ताउहरुमा गणेशजीले लेख्नुभएको थियो, हस्तकला।

स्मरणीय छ, दार्चुला कैलाश पर्वत निकटको जिल्ला हो। शिव–पार्वतीको निवास मानिएको कैलाशबाट वेदव्यासले गणेशलाई बोलाएर ल्याई ब्यास गुफामा बसी पुराण महाभारतादी ग्रन्थ लेखाएको हुनसक्छ। भगवान शिव मल्लिकार्जुनरूपले दार्चुला जिल्लाकै एउटा शिखरमा विराजमान हुनुहुन्छ र लटबाब, गलबाब नाउले गणेशजी तथा कुमार कार्तिकेयका मन्दिर पनि विद्यमान छन्।

वेदव्यासको दार्चुला जिल्लामा निवास भएको कारण त्यहाँका आदिवासी सौका समुदाय आफूलाई भगवान वेदव्यासका सन्तति अथवा शिष्यका रूपमा मान्छन् र यीमध्ये एउटा समूहलाई व्यासी पनि भन्छन्। यस क्षेत्रमा व्यासका नाउँबाट अनेक स्मृति विद्यमान छन्, जसमा व्यास हिमाल, व्यास गर्खा, व्यास गुफा, व्यास मन्दिर पर्छन्। व्यास मन्दिरमा वर्षेनी मेला लाग्छ र सौका समुदायबाट पूजाअर्चना हुनेगर्छ।

यसप्रकार वेदव्यासको जन्मभूमि र कर्मभूमि नेपाली क्षेत्रमै रहेको बुझिन्छ। महाभारत ग्रन्थका कथाहरुमा पनि माता सत्यवतीले बोलाएका वेला हस्तिनापुर जानेआउने गरेका प्रसङ्ग छन्, तर उहाँको स्थायी बसोबास भने हस्तिनापुर होइन।

तनहुँ दमौलीमा वेदव्यासको महिमा दर्शाउने स्मृति चिह्नस्वरूप उहाँको ठूलो मूर्ति स्थापित गर्नेजस्ता कुरा अत्यन्त सराहनीय छन्। तर, महाभारतको महायुद्धपछि दार्चुला जिल्लामा निवास भएको कुरा वर्णन नभएमा उहाँको इतिहास अपूर्ण रहन सक्ने हुँदा यो प्रसङ्ग कसैले पनि छोड्नु हुँदैन।

श्रीकृष्ण द्वैपायन वेदव्यासको र श्यामा (महाकाली) नदी विषयमा स्कन्द पुराणको मानस खण्डमा पनि यस प्रकार लेखिएको देखिन्छ ।

पूजइत्वा गुंरु व्यासश्यामा मूलेलयोम्वितम्।
आचार हीना दपिजना तत्रस्थान्पसन्तम।।
तेजेया व्यास सदृष्यम् भहाथि पूज्या न संसय।
यो व्रजेन नृपसाई पुण्यं व्यासाश्रमा परम्।।


अर्थः श्यामा (महाकाली) नदीको मूलमा तपस्या गर्ने गुरुव्यासको पूजा गर्नाले आचरणहीन व्यक्तिहरु पनि पवित्र हुन्छन्।

हिमालय तटे एम्मो पुण्या व्यासाश्रमो हवा।
श्यामाया संगम पुण्या विशेषेणतु वर्णते।।
श्यामाया संगमे स्नात्वा नरोहरि परम् व्रजेत।।
सरपू संयत्रे पुण्या श्यामा नाम समागना।।


अर्थः हिमालयको रमणीय तटमास्थित पुज्य व्यास आश्रमबाट उत्पन्न श्यामा (महाकाली) नदीको विशेष वर्णन गरिएको छ। श्यामामा स्नान गर्ने व्यक्ति श्री हरि पद प्राप्त गर्दछ।

स्मरणीय छ, कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपाली क्षेत्रको प्रमुख मार्ग पनि दार्चुला नै हो।

(२०७४ कात्तिक १४ गतेको नागरिक दैनिकबाट साभार)

Thursday, July 16, 2020

इतिहासका नयाँ तर्क

पुस्तक नेपाली इतिहास मन्थन

लेखकः आत्माराम ओझा

प्रकाशक बिक्रम/मार्टिना ठकुराठी (जर्मनी)

पृष्ठ १९०+४,

मूल्य रु.१५१

८६ वर्षमा २५औं पुस्तक। त्यो पनि इतिहासको चिरफार। इतिहासकार आत्माराम ओझाको पुस्तक नेपाली इतिहास मन्थन आफैंमा पूँजी हो। यसको भूमिकामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थीले भनेका छन्, 'विगतमा इतिहासकारहरूले दृष्टि नपुर्‍याएका तथा प्रष्ट्याउन नसकेका कुराहरूलाई तथ्य प्रमाणका आधारमा प्रष्ट्याउने प्रयास यस पुस्तकमा भएको पाइन्छ।'

इतिहासकार ओझाले यसअघि इतिहास सम्बन्धी एकदर्जन पुस्तक प्रकाशन गरिसकेको भए पनि यो पुस्तक भिन्न छ। यसमा उनले इतिहास लेखनमा भएका कमी–कमजोरीसँगै नयाँ प्रसंग पनि बाहिर ल्याएका छन्। 'नेपाली इतिहाससम्बन्धी केही भ्रम र तथ्य' शीर्षकमा नेपाल र भारतका इतिहासकारले लेखेका इतिहाससम्बन्धी विभिन्न प्रसङ्ग उजागर गरेका छन्।

कुमाउको इतिहासमा डोटीका राजा नाग मल्ल भारतको कुमाउ राज्यसँगको लडाइँमा मारिएको प्रसङ्ग, इतिहासकार डा. सूर्यमणि अधिकारीले अछाम राज्यका प्रथम राजा देवचन्द शाहको अस्तित्व स्वीकार नगरेको प्रसङ्ग, सूरतबहादुर शाहले लेखेको अछामको इतिहासमा उठाएका प्रसङ्ग तथा भारतीय इतिहासकार राहुल सांकृत्यायनको 'कुमाउ' पुस्तकमा उठाइएको रैनका देवपालको प्रसङ्गलाई गलत भएको दाबी गरेका छन्, इतिहासकार ओझाले।

पुस्तकमा इतिहासकार ओझाले महर्षि वेदव्यास बसेको दार्चुलाको व्यास क्षेत्रका बारेमा नयाँ तथ्य बाहिर ल्याएका छन् भने सम्राट चन्द्रगुप्त मौर्य मगर जातिका भएको उल्लेख गरेका छन्। सिंजा साम्राज्य, डोटी राज्य, राजा अजय पाल, ब्राह्मण कुमार विलल्ल भाष्करदेखि जगद्गुरु शंकराचार्यको शिष्य परम्परासम्मका कुरा उनले नयाँ कोणबाट लेखेका छन्।

यससँगै सुदूरपश्चिम क्षेत्र (सेती–महाकाली) को इतिहास पनि यस पुस्तकमा खोतलखातल गरिएको छ। स्वतन्त्रता प्रेमी झुली चन्द र नेपालको पहिलो शहीद बाकावीर बलदेव शाहका विषयमा पनि नयाँ कुरा बाहिर ल्याएका छन्, इतिहासकार ओझाले। विराङ्गना रानी पनेरुका बारेमा ऐतिहासिक तथ्य उजागर गरेका छन् भने इतिहासका केही प्रेम प्रसङ्गहरूलाई पनि 'नेपाली इतिहास मन्थन' मा अटाइएको छ।

यो उमेरमा ऐतिहासिक कुरा खोज, अनुसन्धान गरेर बाहिर ल्याउनु सहज होइन। यस पुस्तकमार्फत इतिहासकार ओझाले गरेको परिश्रम सम्मान गर्न लायक छ।

(१४-२७ कात्तिक २०७३ काे हिमाल खबरपत्रिकामा प्रकाशित)

Thursday, June 25, 2020

Wednesday, December 5, 2018

माया लाग्छ पहाडको

ऐँसेलु, किरमडा (चुत्रो), अम्बा, दाडिम, ओखर 
सुन्तला, चिउरी, आरू, आँप, चुक र ज्यामिर ।
नासपाती, बिमरो, स्याउ, केरा, मौसमी, काफल
कोसेली सन्ततिलाई पृथ्वीको उपहार यो ।।

जाई, जुही, चमेली, हसना र गुनकेसरी
सुगन्धराज, कोइरालो, नसाडेफूल, प्याउली ।
सेता, राता तथा नीला, हरिया, बैजनी लता
रुखका कोपिला रंगीबिरंगी देखिने छटा ।।

सल्ला, दल्ला, टुँडी, बाज, गुराँस लालिमायुक्त
देवदार, धूपी, पैयुँ, कहीँ साल र सानन ।
नेटा, उँचा, भिराला र अति उच्च हिमाञ्चल
देखिने लहरेडाँडा भरिला वन प्रान्तर ।।

सिरीसिरी बहने हावा हल्लिई रुखका टुपा
मानौँ संकेत गर्दै छन् नजा यात्री नजा नजा ।
बाटोमा हिँड्दा थाक्दा बस्छ यात्री छहारीमा
आमाले थपथप्याए झैँ सुत्छ आनन्द मग्नमा ।।

गुञ्जेको दोहोरी गीत हुँदै पाखा वनान्तर
पोख्दछन् विरही प्रेमी पिर मनको निरन्तर ।
यात्रीको मन झस्कन्छ सम्झी विगतका कुरा,
आफ्नो विवशता पोख्छन् भिजाई आँसुले धरा ।।

नदी ताल तलैयाको झरना, लेक बेँसीको
हिउँको मूलपानीको डाँडाकाँडा बराडको ।
चौतारी वृक्षको रम्य देखिने त्यो हिमालको
जननी जन्मभूमिको माया लाग्छ पहाडको ।

इति !!
(प्रकृति, समाज र इतिहासका विषयमा कलम चलाउने साहित्यकार आत्माराम ओझाका २५ पुस्तक प्रकाशित छन् । १८ मंसिर, १९८७ मा बैतडीको दशरथचन्द नगरपालिकास्थित बमराडमा जन्मिएका ओझाको १५ पुस, २०७३ मा निधन भएको थियो ।)

(काठमाण्डौको नया पत्रिका दैनिकमा २०७५  मंगसिर १८ गते प्रकाशित)

Wednesday, December 28, 2016

राष्ट्र भाषा मातृभाषा

नेपाल एकिकरण भन्दा पहिले बाइसे-चौबिसे आदि राज्यहरुमा हिन्दु, बौद्ध धर्मालम्बी थिए प्रत्येक राज्यमा आफ्नै किसिमको कानुनी व्यवस्था, संस्कृति रहि आएको थियो एकिकरण पश्चात नेपाल स्थिर राज्यको रुपमा प्रतिष्ठित भयो त्यसपछि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एउटै किसिमको राष्ट्र भाषा प्रशासनको अनुभव गरी श्री पृथ्वीनारायण शाह वहाँका उत्तराधिकारीहरुद्वारा सम्पूर्ण अधिराज्यलाई पौराणिक नेपाल नाउ दिए

नेपालका बहुसंख्यक जनताद्वारा बोलिने नेपाली भाषालाई नै सरकारी कामकाजको भाषा बनाइयो राष्ट्र भाषाको रुपमा स्थापित गरिएको भारतवर्षमा व्यापक देवनागरी लिपीलाई नै सरकारी लिपी बनाइयो   त्यसैलाई व्यवहारमा ल्याउदा नेपाल भित्र बोलिने एक सय भन्दा बढी भाषाहरु मध्ये पनि आज नेपाली भाषा जनको बोलिने बुझ्ने भाषा बनेको

अंग्रेजी शासनपछि स्वतन्त्रता कारण भारतले त्रिमाणा फर्मुला अपनाएर प्रत्येक राज्यको आफ्नो भाषा राष्ट्र भाषा हिन्दी सरकारी लेखपढको भाषा अंग्रेजीबाट काम चलाउनु परेको थियो तर नेपालमा व्यवहारमा स्थानीय भाषा सरकारी कामकाजमा नेपाली भाषाको आवश्यकता पर्ने भएपनि राष्ट्र भाषा नेपालीबाट मात्रै पनि काम चल्ने स्थिति रह्यो त्यसकारण नेपालमा बोलिने भाषाहरुमा भोटे, नेवारी, थकाली, राइ, लिम्बु आदि समुदायको भाषालाई चाइनिज, तिब्बती अर्थात हिमाली भाषाको नाम दिइएको बहुसंख्यक नागरिकहरुको बोल्ने भाषाहरु भोजपुरी, मैथिली, अवधी, डोटेली, थारु, जुमसी आदि भाषाहरुलाई भारोपेली भाषा अन्तर्गत राखिएको यो भाषा बहुसंख्यक जनताहरुबाट बोलिने भाषा भएकाले पनि यसको विस्तार हुन सक्छ त्यसमा पनि नेपाली विद्धानहरुले राष्ट्र भाषा नेपालीमा उत्कृष्ट रचनाहरु, पत्रपत्रिका, पुस्तकहरु प्रकाशन गरि दिएकाले नेपाली भाषा आज राष्ट्र भाषा मात्र नभै आम जनताको प्रिय भाषा बनिसकेको

एक समय हिन्दी भाषालाई पक्की भाषा नेपाली भाषालाई कच्ची भाषा भन्ने चलन पनि थियो तर वर्तमान नेपाली भाषा पनि हिन्दी भाषा भन्दा साहित्य रचनाहरु समेतमा कम छैन यसकारण अब कच्ची पक्की भन्ने द्विविधात्मक संज्ञा रहेन तैपनि भाषा नविकरणको नाममा केही व्यक्तिहरुले भाषालाई बिगार्ने दुष्प्रयास पनि गर्न छोडेका छैनन् सायद यस्तै गरी भाषा बिग्रन लागेको तर्फ नेपालका विशेषज्ञहरुको विरोधमा नेपाल प्रज्ञा प्रतिष्ठानबाट छापिएका शब्दकोषलाई फिर्ता लिनु परेको

माथी उल्लेखित भारोपेली भाषाकी जननी संस्कृत भाषा रहेको संस्कृतका आदि विद्वानहरुले संस्कृत भाषाको सिद्धान्त मार्गदर्शन गरिसकेका छन् अब केही व्यक्तिहरु आफ्नो विद्धता दर्शाउन अवैज्ञानिक रुपले प्रचलित नियम भंग गरी आफ्नो विचार लाद्न चाहन्छन् जसले उन्नतिको ठाउँमा भाषाको अवसान गराउछ

नेपालमा प्रचलित अरु भाषाहरुको कुरा छोडौं केवल आफ्नो स्थानीय भाषा डोटेली भाषा परिवारको कुरा गरौं सुदूरपश्चिममा बोलिने भाषाहरुमा-यो, -योजस्ता केही सामान्य विभेद भए पनि सबै भाषाहरु भारोपेली भाषा अन्तराात हुनाले परम्परागत सम्बाद गर्दा आफ्नो भाषामा कुरा गरे पनि दुबै थरीले बुझ्न सक्छन् लिपी सबैको देवनागरी नै हो

हालका दिनहरुमा भाषाप्रेमीहरुले यस डोटेली भाषा परिवारका भाषाहरुमा पनि विभिन्न उत्कृष्ट पुस्तकहरु लेखी प्रकाशित भइ सकेका छन् शब्दकोषसमेत प्रकाशित भइसकेको केही पत्रपत्रिकाहरु पनि प्रकाशित छन् तर भाषा लेखनको स्थिरता हुन नपाउँदै एउटा प्रतिष्ठित डोटेली भाषाका मासिक पत्रिकाले केही व्यक्तिहरुका लहलहैमा स्थानीय भाषालाई अंग्रेजीको रोमन जस्तै शैलीमा लेख्ने पढ्ने कथित प्रयास भइरहेको यसबाट भाषालाई केही अवरोध आएपनि यो खेलवाड विद्धान सम्पादक महोदयको लागि उपहास हुन सक्ने कुरा बुझी मान्यता विपरीत भाषा बिगार्ने काम नहोस भन्ने आसय

अन्तमा देवोक्ती , ‘मातृभाषा, मातृसंस्कृति  मातृभूमि, यी तीन देवीहरु कल्याणकारी हुन

इति !!