Tuesday, July 28, 2020

महर्षि वेदव्यासको कर्मभूमि


नेपाल र भारत राजनीतिक रूपले अलग अलग राष्ट्र भएपनि सांस्कृतिक रूपले भने दुवै देशमा एकता छ। यसका लागि दुवै देशका धर्म प्राण हिन्दु जनताको छिमेकी देशको तीर्थाटनको निरन्तरता सृष्टि कालदेखि अहिलेसम्म यथावत् रहिआएको छ।

तैपनि महात्मा गौतम बुद्धको जन्मभूमि सम्बन्धमा होस् अथवा प्रथम सगरमाथा (एभरेस्ट) आरोहीको मामिलामा होस् भारतका केही पत्रपत्रिका नेपाली क्षेत्रका विशेषतालाई आफ्नो क्षेत्रमा रहेको लेख्न संकोच गर्दैनन्।

यसै सिलसिलामा चार वेदका सम्पादनकर्ता एवं अठार पुराण तथा महाभारत ग्रन्थसमेतका निर्माता भगवान द्वैपायन वेदव्यासलाइ पनि भारतीय क्षेत्रकै उत्पत्ति भनेर भारतीय समाचारहरुमा आउने गरेका छन्। नेपालको एउटा टिभी प्रसारणमा श्री वेदव्यासको जन्मभूमि नेपालको तनहुँ दमौलीमा भएको र उनका पिता महर्षि परासर र वेदव्यासको गुफा अहिलेसम्म विद्यमान रहेको तथा वेदव्यासको १०८ फुट अग्लो मूर्ति निर्माण गरिने भएको खबर प्रशारण भएको थियो। उक्त प्रशारणमा वेदव्यासले १८ पुराण पनि दमौलीमा नै बसी लेखेका थिए भन्नेसमेत उल्लेख थियो।

आफ्नो देशका महान् विभूतिहरुको परिचय देश विदेशमा दिइरहनु प्रशंसनीय कुरा हो, तर अधुरा समाचारहरुले भ्रममात्र सिर्जना गर्छ। वेदव्यासको जन्म तनहुँको दमौलीमा भएको हुनसक्छ, तर उहाँबाट रचित पुरानादी ग्रन्थहरु दमौलीमा बसेर लेखेका भन्ने कुनै प्रमाण प्रस्तुत भएन। महाभारत ग्रन्थमा वेदव्यासले हिमालय कैलाशतर्फ गमन गरेको यस श्लोकले पनि पुष्टि गर्छ ।

स्वस्तिस्तेस्तु गमिस्यामी कैलाश पर्वतप्रति।
अप्रयस स्थिरोदान्त प्रिथिव्याम परिपालय।।


(महाभारत सभा पर्व, कल्याण अवतार अंकबाट)

महाभारत युद्धपूर्व कौरवहरुले पाण्डवहरुलाई राज्य अंश नदिने हठ गरेका कारण उत्पन्न अवश्यम्भावी युद्धमा क्षत्रीयहरुको महाविनाश हुनसक्ने भविष्य आंकलन गरी आमा सत्यवतीसहित व्यासले कैलाश पर्वततर्फ गमन गर्नुभएको स्पष्ट छ। कैलाश गमनको सिलसिलामा उहाँ दार्चुला जिल्लाअन्तर्गतका ठाउँहरुमा बस्नुभएको प्रमाण विद्यमान छन्।

दार्चुला जिल्लामा व्यास गुफा नामक एउटा विशाल गुफा (कन्दरा) छ, जसमा बसेर वेदव्यासले भनेअनुसार गणेशजीले पुराणादि लेख्नुभएको थियो भन्ने कथा पनि छन्। प्राचीनकालमा भोजपत्रहरुमा लेख्ने गर्थे। यसैअनुरूप दार्चुलाकै विशाल भोजपत्रको जंगलबाट ठूलाठूला ताउ भोजपत्रहरु निक्लने हुनाले त्यसबाट निकालिएका भोजपत्रका ताउहरुमा गणेशजीले लेख्नुभएको थियो, हस्तकला।

स्मरणीय छ, दार्चुला कैलाश पर्वत निकटको जिल्ला हो। शिव–पार्वतीको निवास मानिएको कैलाशबाट वेदव्यासले गणेशलाई बोलाएर ल्याई ब्यास गुफामा बसी पुराण महाभारतादी ग्रन्थ लेखाएको हुनसक्छ। भगवान शिव मल्लिकार्जुनरूपले दार्चुला जिल्लाकै एउटा शिखरमा विराजमान हुनुहुन्छ र लटबाब, गलबाब नाउले गणेशजी तथा कुमार कार्तिकेयका मन्दिर पनि विद्यमान छन्।

वेदव्यासको दार्चुला जिल्लामा निवास भएको कारण त्यहाँका आदिवासी सौका समुदाय आफूलाई भगवान वेदव्यासका सन्तति अथवा शिष्यका रूपमा मान्छन् र यीमध्ये एउटा समूहलाई व्यासी पनि भन्छन्। यस क्षेत्रमा व्यासका नाउँबाट अनेक स्मृति विद्यमान छन्, जसमा व्यास हिमाल, व्यास गर्खा, व्यास गुफा, व्यास मन्दिर पर्छन्। व्यास मन्दिरमा वर्षेनी मेला लाग्छ र सौका समुदायबाट पूजाअर्चना हुनेगर्छ।

यसप्रकार वेदव्यासको जन्मभूमि र कर्मभूमि नेपाली क्षेत्रमै रहेको बुझिन्छ। महाभारत ग्रन्थका कथाहरुमा पनि माता सत्यवतीले बोलाएका वेला हस्तिनापुर जानेआउने गरेका प्रसङ्ग छन्, तर उहाँको स्थायी बसोबास भने हस्तिनापुर होइन।

तनहुँ दमौलीमा वेदव्यासको महिमा दर्शाउने स्मृति चिह्नस्वरूप उहाँको ठूलो मूर्ति स्थापित गर्नेजस्ता कुरा अत्यन्त सराहनीय छन्। तर, महाभारतको महायुद्धपछि दार्चुला जिल्लामा निवास भएको कुरा वर्णन नभएमा उहाँको इतिहास अपूर्ण रहन सक्ने हुँदा यो प्रसङ्ग कसैले पनि छोड्नु हुँदैन।

श्रीकृष्ण द्वैपायन वेदव्यासको र श्यामा (महाकाली) नदी विषयमा स्कन्द पुराणको मानस खण्डमा पनि यस प्रकार लेखिएको देखिन्छ ।

पूजइत्वा गुंरु व्यासश्यामा मूलेलयोम्वितम्।
आचार हीना दपिजना तत्रस्थान्पसन्तम।।
तेजेया व्यास सदृष्यम् भहाथि पूज्या न संसय।
यो व्रजेन नृपसाई पुण्यं व्यासाश्रमा परम्।।


अर्थः श्यामा (महाकाली) नदीको मूलमा तपस्या गर्ने गुरुव्यासको पूजा गर्नाले आचरणहीन व्यक्तिहरु पनि पवित्र हुन्छन्।

हिमालय तटे एम्मो पुण्या व्यासाश्रमो हवा।
श्यामाया संगम पुण्या विशेषेणतु वर्णते।।
श्यामाया संगमे स्नात्वा नरोहरि परम् व्रजेत।।
सरपू संयत्रे पुण्या श्यामा नाम समागना।।


अर्थः हिमालयको रमणीय तटमास्थित पुज्य व्यास आश्रमबाट उत्पन्न श्यामा (महाकाली) नदीको विशेष वर्णन गरिएको छ। श्यामामा स्नान गर्ने व्यक्ति श्री हरि पद प्राप्त गर्दछ।

स्मरणीय छ, कैलाश मानसरोवर तीर्थयात्राका लागि नेपाली क्षेत्रको प्रमुख मार्ग पनि दार्चुला नै हो।

(२०७४ कात्तिक १४ गतेको नागरिक दैनिकबाट साभार)

Thursday, July 16, 2020

इतिहासका नयाँ तर्क

पुस्तक नेपाली इतिहास मन्थन

लेखकः आत्माराम ओझा

प्रकाशक बिक्रम/मार्टिना ठकुराठी (जर्मनी)

पृष्ठ १९०+४,

मूल्य रु.१५१

८६ वर्षमा २५औं पुस्तक। त्यो पनि इतिहासको चिरफार। इतिहासकार आत्माराम ओझाको पुस्तक नेपाली इतिहास मन्थन आफैंमा पूँजी हो। यसको भूमिकामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थीले भनेका छन्, 'विगतमा इतिहासकारहरूले दृष्टि नपुर्‍याएका तथा प्रष्ट्याउन नसकेका कुराहरूलाई तथ्य प्रमाणका आधारमा प्रष्ट्याउने प्रयास यस पुस्तकमा भएको पाइन्छ।'

इतिहासकार ओझाले यसअघि इतिहास सम्बन्धी एकदर्जन पुस्तक प्रकाशन गरिसकेको भए पनि यो पुस्तक भिन्न छ। यसमा उनले इतिहास लेखनमा भएका कमी–कमजोरीसँगै नयाँ प्रसंग पनि बाहिर ल्याएका छन्। 'नेपाली इतिहाससम्बन्धी केही भ्रम र तथ्य' शीर्षकमा नेपाल र भारतका इतिहासकारले लेखेका इतिहाससम्बन्धी विभिन्न प्रसङ्ग उजागर गरेका छन्।

कुमाउको इतिहासमा डोटीका राजा नाग मल्ल भारतको कुमाउ राज्यसँगको लडाइँमा मारिएको प्रसङ्ग, इतिहासकार डा. सूर्यमणि अधिकारीले अछाम राज्यका प्रथम राजा देवचन्द शाहको अस्तित्व स्वीकार नगरेको प्रसङ्ग, सूरतबहादुर शाहले लेखेको अछामको इतिहासमा उठाएका प्रसङ्ग तथा भारतीय इतिहासकार राहुल सांकृत्यायनको 'कुमाउ' पुस्तकमा उठाइएको रैनका देवपालको प्रसङ्गलाई गलत भएको दाबी गरेका छन्, इतिहासकार ओझाले।

पुस्तकमा इतिहासकार ओझाले महर्षि वेदव्यास बसेको दार्चुलाको व्यास क्षेत्रका बारेमा नयाँ तथ्य बाहिर ल्याएका छन् भने सम्राट चन्द्रगुप्त मौर्य मगर जातिका भएको उल्लेख गरेका छन्। सिंजा साम्राज्य, डोटी राज्य, राजा अजय पाल, ब्राह्मण कुमार विलल्ल भाष्करदेखि जगद्गुरु शंकराचार्यको शिष्य परम्परासम्मका कुरा उनले नयाँ कोणबाट लेखेका छन्।

यससँगै सुदूरपश्चिम क्षेत्र (सेती–महाकाली) को इतिहास पनि यस पुस्तकमा खोतलखातल गरिएको छ। स्वतन्त्रता प्रेमी झुली चन्द र नेपालको पहिलो शहीद बाकावीर बलदेव शाहका विषयमा पनि नयाँ कुरा बाहिर ल्याएका छन्, इतिहासकार ओझाले। विराङ्गना रानी पनेरुका बारेमा ऐतिहासिक तथ्य उजागर गरेका छन् भने इतिहासका केही प्रेम प्रसङ्गहरूलाई पनि 'नेपाली इतिहास मन्थन' मा अटाइएको छ।

यो उमेरमा ऐतिहासिक कुरा खोज, अनुसन्धान गरेर बाहिर ल्याउनु सहज होइन। यस पुस्तकमार्फत इतिहासकार ओझाले गरेको परिश्रम सम्मान गर्न लायक छ।

(१४-२७ कात्तिक २०७३ काे हिमाल खबरपत्रिकामा प्रकाशित)