Thursday, July 16, 2020

इतिहासका नयाँ तर्क

पुस्तक नेपाली इतिहास मन्थन

लेखकः आत्माराम ओझा

प्रकाशक बिक्रम/मार्टिना ठकुराठी (जर्मनी)

पृष्ठ १९०+४,

मूल्य रु.१५१

८६ वर्षमा २५औं पुस्तक। त्यो पनि इतिहासको चिरफार। इतिहासकार आत्माराम ओझाको पुस्तक नेपाली इतिहास मन्थन आफैंमा पूँजी हो। यसको भूमिकामै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. जयराज अवस्थीले भनेका छन्, 'विगतमा इतिहासकारहरूले दृष्टि नपुर्‍याएका तथा प्रष्ट्याउन नसकेका कुराहरूलाई तथ्य प्रमाणका आधारमा प्रष्ट्याउने प्रयास यस पुस्तकमा भएको पाइन्छ।'

इतिहासकार ओझाले यसअघि इतिहास सम्बन्धी एकदर्जन पुस्तक प्रकाशन गरिसकेको भए पनि यो पुस्तक भिन्न छ। यसमा उनले इतिहास लेखनमा भएका कमी–कमजोरीसँगै नयाँ प्रसंग पनि बाहिर ल्याएका छन्। 'नेपाली इतिहाससम्बन्धी केही भ्रम र तथ्य' शीर्षकमा नेपाल र भारतका इतिहासकारले लेखेका इतिहाससम्बन्धी विभिन्न प्रसङ्ग उजागर गरेका छन्।

कुमाउको इतिहासमा डोटीका राजा नाग मल्ल भारतको कुमाउ राज्यसँगको लडाइँमा मारिएको प्रसङ्ग, इतिहासकार डा. सूर्यमणि अधिकारीले अछाम राज्यका प्रथम राजा देवचन्द शाहको अस्तित्व स्वीकार नगरेको प्रसङ्ग, सूरतबहादुर शाहले लेखेको अछामको इतिहासमा उठाएका प्रसङ्ग तथा भारतीय इतिहासकार राहुल सांकृत्यायनको 'कुमाउ' पुस्तकमा उठाइएको रैनका देवपालको प्रसङ्गलाई गलत भएको दाबी गरेका छन्, इतिहासकार ओझाले।

पुस्तकमा इतिहासकार ओझाले महर्षि वेदव्यास बसेको दार्चुलाको व्यास क्षेत्रका बारेमा नयाँ तथ्य बाहिर ल्याएका छन् भने सम्राट चन्द्रगुप्त मौर्य मगर जातिका भएको उल्लेख गरेका छन्। सिंजा साम्राज्य, डोटी राज्य, राजा अजय पाल, ब्राह्मण कुमार विलल्ल भाष्करदेखि जगद्गुरु शंकराचार्यको शिष्य परम्परासम्मका कुरा उनले नयाँ कोणबाट लेखेका छन्।

यससँगै सुदूरपश्चिम क्षेत्र (सेती–महाकाली) को इतिहास पनि यस पुस्तकमा खोतलखातल गरिएको छ। स्वतन्त्रता प्रेमी झुली चन्द र नेपालको पहिलो शहीद बाकावीर बलदेव शाहका विषयमा पनि नयाँ कुरा बाहिर ल्याएका छन्, इतिहासकार ओझाले। विराङ्गना रानी पनेरुका बारेमा ऐतिहासिक तथ्य उजागर गरेका छन् भने इतिहासका केही प्रेम प्रसङ्गहरूलाई पनि 'नेपाली इतिहास मन्थन' मा अटाइएको छ।

यो उमेरमा ऐतिहासिक कुरा खोज, अनुसन्धान गरेर बाहिर ल्याउनु सहज होइन। यस पुस्तकमार्फत इतिहासकार ओझाले गरेको परिश्रम सम्मान गर्न लायक छ।

(१४-२७ कात्तिक २०७३ काे हिमाल खबरपत्रिकामा प्रकाशित)

No comments:

Post a Comment