Monday, February 29, 2016

नेपाली राजनीतिमा व्यक्तिवाद

नेपालमा सशस्त्र माओवादीहरुको उत्थान र पतनको क्रममा जन-आन्दोलनले नेपालको जनजीवनमा भयङ्कर मोड ल्याउदा लगभग १७ हजार नेपाली जनताको अकाल मृत्यु हुन पुग्यो । तैपनि यो सशस्त्र विद्रोही आन्दोलन सफल हुन सकेन र यस आन्दोलनको प्रमुख गुट जसको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नु भएको थियो, संसदीय पद्धतिको अनुशरण गर्नु भएपछि आफू र पार्टी नेपाली राजनीतिमा स्थापित भए । यस माओवादी पार्टीबाट टुक्रिएको बैद्य गुट एवं विप्लव गुटहरु पृथक पथबाट आफ्नो अस्तित्व देखाउदैछन् र हाल यस मुख्य माओवादी पार्टीबाट डा.बाबुराम भट्टराई पनि अलग भइ शक्ति सञ्चयमा लाग्नु भएको देखिन्छ । 

तर माओवादी संस्थापन पक्षका प्रमुख कमरेड प्रचण्डले भने आफ्नो गणतन्त्रवादी छविलाई काय राख्दै जनुसुकै दलको प्रधानमन्त्री भएपनि सरकारमा आफ्नो प्रभाव पार्न सफल भइरहनु भएको देखिन्छ । यसैप्रकार राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ पञ्चायती समयदेखिको सामर्थ्यवान राजनीतिक पार्टी पनि व्यक्तिवादले गर्दा नेतृत्व विभाजनद्वारा राणा गुट र चन्द गुटमा परिणत भइरहेपनि आपसी समझदारी कायम गरी आलो-पालो नेतृत्व गर्ने गरी पार्टी सञ्चालन भइरहेको छ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले वर्तमान नेपाल सरकारमा सामेल भइ महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको छ । ‘एक मधेश, एक प्रदेश’ भन्ने संयुक्त नारा भएका मधेशवादी पार्टीहरु भने एउटै लक्ष्य भएर पनि व्यक्तिवादको कारण बिभिन्न गुटमा विभाजित भइरहेका छन् । त्यस मध्ये केही वर्तमान सत्ता साझेदारीमा नियुक्त भइसकेका छन् भने केही नेता प्रतिक्षारत रहेका देखिन्छन् ।

अरु साना दलहरुको के कुरा, नेपालको सबै भन्दा ठूलो र प्रजातान्त्रिक मानिने नेपाली काँग्रेसमा पनि स्व.गिरिजाप्रसाद कोइरालादेखि पृथकवादी विचारधाराले जन्म लिएको भएपनि हालै सभापति सुशील कोइरालाको देहावसानपछि नेपाली काँग्रेस सभापति पदका प्रत्यासी धेरै नेताहरु देखिन लागेका छन् । जसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र सुजाता कोइराला आदि छन् । तर प्रमुख दावेदार शेरबहादुर देउवा र रामचन्द्र पौडेल मध्ये कसले समापति पद हात लगाउने भन्ने तर्क वितर्क भइरहेका छन् । शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई प्रधानमन्त्री पदमा समर्थन गर्ने र रामचन्द्र पौडेलले शेरबहादुर देउवालाई सभापतिमा समर्थन गर्न आग्रह गरेका छन् । जुन एकदम व्यवहारिक पनि छ किनकी पूर्ववर्तिहरुले जस्तै अब पनि सभापति र प्रधानमन्त्री दुबैको लालच गर्न उपयुक्त हुने छैन । सत्रपल्ट जति प्रधानमन्त्री पदका उम्मेदवार रहेर पनि प्रधानमन्त्री हुन नसकेका रामचन्द्र पौडेललाई तीन पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले दिनु भएको सल्लाह मान्नु वहाँको भविष्यको लागि वेश होला जस्तो लाग्दछ ।

सुदूरपश्चिम क्षेत्रमा पनि नेपाली काँग्रेस पार्टीको देउवा पक्ष र संस्थापन पक्षबिच प्रतिद्वन्द्विता भइरहेका समाचार स्थानीय पत्रपत्रिकाहरुबाट देखिन्छ । तर यस पीछडिएको र कुनै पनि उद्योगधन्दा नभएको सुदूरपश्चिम  क्षेत्रका जनतामा अरु प्रदेशहरु भन्दा २५ प्रतिशत बढी गरिबी रहेको बताइन्छ । यस प्रदेशमा आफ्ना प्रदेशको सुयोग्य र सक्षम व्यक्तिबाट जति उन्नति प्रगतिको आशा गर्न सकिन्छ, त्यति बाहिरिया व्यक्तिबाट गर्न सकिदैन । यस कुराको मनन गरि आफ्नो क्षेत्रका सक्षम र समर्पित व्यक्तित्वहरुलाई समर्थन दिनु यस क्षेत्रको हकहितमा हुनेछ। सत्तारुढ नेकपा (एमाले)का नेताहरु मध्ये के.पी शर्मा ओली सफल र सक्षम प्रधानमन्त्री बनेका छन् । वहाँले आन्तरिक र वाह्य दुबैतर्फ सफलता पाइरहनु भएको छ । र वहाँका समकक्षी नेताहरु झलनाथ खनाल र माधव नेपालहरु पनि हाल सहयोगी मुडमा देखिनु भएकाले प्रधानमन्त्री ओलीको कार्यकाल अझै लम्बिने आशा गरिएको छ । प्रधानमन्त्री जुनसुकै भएपनि नेपाल राष्ट्र आत्मनिर्भर रहोस र स्वावलम्बी बनोस, यो प्रत्येक नेपालीको कामना रहेकोछ ।

इति!
(२०७२ फागुन १४ गतेको पश्चिम नेपाल दैनिकमा कञ्चनपुरबाट प्रकाशित)

No comments:

Post a Comment