Wednesday, March 2, 2016

गोदावरी मेला र गोदावरी पत्रिका

यसवर्ष गत माघदेखि कैलालीको गोदावरी क्षेत्रमा प्रसिद्ध साहित्यकार श्री पदमराज जोशीजीको संयोजकत्वमा केही श्रद्धालु, प्रगतिशील धार्मिक व्यक्तित्व्हरुको लगन र परिश्रमले यस सुप विकास क्षेत्रकै अद्वितीय गोदावरी कुम्भ नामक मेलाले अपार सफलता प्राप्त गरेको देखिन्छ । यस मेलामा लाखौं श्रद्धालु अथाव दर्शनार्थीको सहभागिताको अतिरिक्त राष्ट्राध्यक्ष श्रीमती विद्यादेवी भण्डारीले यस कुम्भ मेलाको उद्घाटन गर्नु पनि ऐतिहासिक महत्व रहेकोछ । साथै अनेक गण्यमान्य र समाजका प्रतिष्ठित तथा साधु सन्याषी महात्माहरु सहितको आगमनबाट यो प्रथम धार्मिक आयोजनाले अत्यन्त लोकप्रियता प्राप्त गरेको देखिन्छ । र यसबाट सुप क्षेत्रको महत्व बढेको छ । यस कुम्भ मेलाको पौराणिक आधार जसमा सातवटा गोदावरी नदीहरुको वर्णनले पनि मानिसहरुमा श्रद्धा बढाएको छ । र यस क्षेत्रमा भगवान श्रीकृष्णको चरण पादुका रहेको चिन्ह आदि धार्मिक अवशेषहरु पनि यस कुम्भ मेलाका सम्वाहकहरु हुन । 

यस गोदावरी भव्य मेलाको सिलसिलामा ज्योतिषाचार्य श्री मनिराज जोशीजीको सम्पादकत्वमा प्रकाशित ‘गोदावरी’ नामक आकर्षक कलेवरधारी पत्रिका पनि दर्शनीय, पठनीय र संग्रहणीय बनेकोछ । कैयन महाकाव्यहरुका प्रणेता एवं अनेक पुस्तकहरुका रचयिता श्री मनिराज जोशीको छनौटमा सम्पादन गरिएका यस गोदावरी पत्रिकाका रचनाहरु यस लेखकको दृष्टिमा यस क्षेत्रको मात्र होइन सम्पूर्ण नेपाल राष्ट्रकै धार्मिक लेखहरुको प्रतिनिधित्व गर्न सक्ने क्षमतावान अंकको रुपमा प्रस्तुत भएको देखिन्छ । यस पत्रिकामा स्तोत्रखण्ड, काब्यखण्ड, गद्यखण्ड र विविध खण्डको रुपमा महाकुम्भ प्रवेशाङ्क नामले यो गोदावरी पत्रिकाका अलंकृत गरिएको छ । 
यस अंकमा अनेकौ महात्माहरुका आशिर्वचनका अतिरिक्त अनेकौं विद्धानहरुका धार्मिक सु–लेख रचनाहरु समावेश रहेकाछन । जसमा यस क्षेत्रका केही प्रबुद्ध व्यक्तित्व प्रा.डा.रामचन्द्र लम्साल, मानचन्द्र भण्डारी, यज्ञप्रसाद यात्री, हेमन्ती जोशी, तारादत्त पाण्डेय, फाल्गुनी दाहाल, गगनसिंह ऐर, टेकबहादुर रैका तथा यस लेखकको रचना अंगद रावण संवाद गीति नाटकले पनि स्थान पाएको देखिन्छ । गद्यखण्डमा आचार्य घनश्याम लेखक, पं.देवेन्द्र प्रसाद भट्ट, निर्मल कुमार भण्डारी, मान बहादुर चन्द, पं. लक्ष्मीकान्त जोशी, भोजराज भट्ट, कैलास शाही, वासुदेव पाण्डेय तथा विविध खण्डमा विविध सामग्रीहरुद्वारा सुसज्जित पारिएको यस अंकका सबै रचनाहरु ज्ञानप्रद रहेका छन् । 

यस प्रकारको भव्य मेलाको आयोजनाले तथा यस गोदावरी मेला सम्बन्धमा प्रकाशित ‘गोदावरी’ पत्रिका समेतले यस सुप क्षेत्रको गौरवमा बृद्धि गरेकोछ भन्नु अत्युक्ति हुने छैन । यस अविकसित नेपाल राष्ट्रको सबै भन्दा पीछडिएको पश्चिमी क्षेत्रको यस सुपको भूखण्डमा विकासको लागि मेला अथवा शैक्षिक सामग्री प्रकाशन आदि जुनसुकै माध्यमबाट भएपनि प्रगति उन्नति हुनु अत्यन्त प्रशंसनीय कार्य हो । यस पुण्य कार्यको लागि आयोजक महानभावहरु बधाई तथा धन्इवादका पात्र बन्नु भएकोछ । राम्रो काम गर्नेहरुको राम्रो नाम र सम्मान हुनुपर्दछ । यस लेखको उद्देश्य पनि यही हो, धन्यवाद । 

(२०७२ फागुन १९ गतेको पश्चिम नेपाल दैनिकमा कञ्चनपुरबाट प्रकाशित)

No comments:

Post a Comment