Tuesday, August 16, 2016

हिंसा र कुटनीति

अहिलेको विश्व प्रायः हिंसावादी छैन र जो हिंसावादी छन् ती असफल भई रहेका छन् । यसको प्रमाण वर्तमान विश्वमा कतै पनि हिंसाद्धारा सत्ता प्राप्तीका घटनाहरु भएको देखिदैन । हालैको टर्कीको सैनिक विद्रोह जसमा सेनाको एउटा ठुलो मासले निर्वाचित सरकार विरुद्ध विद्रोह गरको थियो तर जनताको ठुलो वर्गले यस विद्रोहलाई असफल गरिदिएको  ताजा उदाहरण हो । 

यस घटनामा हजारौं विद्रोही सैनिकहरु बन्दी बनाईएका छन् भन्ने समाचारहरु छन् । भारतमा अंग्रेजहरुका आगमनको पूर्व भारतमा बलियो केन्द्रिय शासन व्यवस्था नभएको र अनेकौं स्वतन्त्र राष्ट्रहरु अस्तित्वमा रहेको बेला अनेकौं संगठित मुस्लिम आक्रमणकारीहरुले अरबसहितका देशहरुबाट आइ भारतलाई निजी शासन चलाए । तत्पश्चात आएका अंग्रेजहरुले आफ्नो सैनिक शक्ति एवं कुटनीतिहरु दुबै थरीको प्रयोगद्धारा भारतमा शासन गर्न सफल भएका र सन् १८५९ को सैनिक विद्रोहमा पनि आफ्नो कुटनीतिद्वारा आफ्ना पुराना शत्रु नेपाल र पञ्जाबलाई आफ्नो मित्र बनाई दुबै राज्यबाट सैनिक मद्दत लिई विजय सुनिश्चित गरेको थियो । त्यसपछि सैनिक शक्तिद्धारा भारतलाई स्वतन्त्र गराउन खोज्ने नेताजी शुवाष चन्द्र वोश आदि असफल भए तर अहिंसा आन्दोलनका प्रणेता महात्मा मोहनचन्द्र करमचन्द गाँन्धी आफ्नो सत्याग्रह आदि अहिंसक आन्दोलनद्धारा भारतलाई स्वतन्त्र गर्न सफल भएका थिए ।
नेपालमा घटेका घटनाहरु र ईतिहास अनुसार सशस्त्र माओवादी युद्ध भनिन्छ कि तत्कालीन राजतन्त्रले प्रजातन्त्रवादीहरुको उपेक्षा गरि माओवादी आन्दोलन तर्फ आँखा चिम्लेकाले नेपालमा माआवादीहरुको सक्रियता बढेपनि उनीहरुले माओत्से तुङ्गका वचन अनुसार ‘बन्दुकको नलीबाट सत्ता प्राप्त हुन्छ’ भन्ने सिद्धान्तबाट सत्ता प्राप्त गर्न नसकी कुटनीतिको सहारा लिए । नेपालका राजनीतिक दलहरुसँग सम्झौता गरी शसस्त्र आन्दोलन परित्याग गरि बहुदलीय संसदीय व्यवस्थातर्फ लागे पछि मात्र उनीहरु सत्ता प्राप्ती गर्न सफल भए । र आफ्ना गलत नीतिका कारण धेरै समय सत्तामा टिक्न नसकेपनि  अहिले तेस्रोपटक पुनः सत्ता प्राप्त गरेका छन् । तर अहिले पनि केहि माओवादी नेताहरु नेपालमा माओवादी एकदलीय प्रणाली लागु गर्ने दिवास्वप्न देखी रहेका छन् । त्यस्ता माओवादीहरु कामरेड माओको बन्दुकको नली वाला सिद्धान्तलाई मान्दछन्, जस्तोेकी भारतका माओवादीहरुले गर्दै आएका छन् । यिनीहरुको करतुतबाट केहि नागरीक र सरकारी कर्मचारीहरुको हत्या अवश्य हुनसक्छ तर सत्ता प्राप्तीको लक्ष्य भने अब हिंसाबाट प्राप्त हुन नसक्ने पक्कै देखिन्छ । किनकी अब विश्व जनमत हिंसाको विरुद्ध छ र अहिंसाद्धारा नै लक्षित फल प्राप्तीको आशा गर्दछ ।

बहुदलीय संसदीय प्रणालीमा सबै कुरा ठिक र राम्रो नै हुन्छ भन्ने कुरा होईन । यो कुरा निर्वाचित व्यक्तिहरुमा भर पर्दछ तर बहुदलीय संसद प्रणाली उत्तम हो । किनकी यसमा समस्त नागरिकहरुको सहभागीता रहेको हुन्छ तर नागरिकहरुले सही व्यक्तिको चुनाउ गर्नु पर्ने  र चुनिएका व्यक्तिहरुले आफ्नो हित भन्दा पनि देश हितमा काम गर्नु पर्ने हो । किन्तु गलत व्यक्तिको चुनाउ र चुनिएका व्यक्तिले गलत काम गर्न लागेमा वा राम्रो काम गर्ने क्षमता नभएमा देश र जनताको दुर्दशा हुन सक्छ जस्तो की वर्तमानमा नेपालमा पनि देखिएको छ । जसका कारणले देशमा उद्योगधन्दा चौपटमै बेरोजगारी बढ्न गइ युवायुवतीहरुको विदेश पलायन बढ्न गएको छ । 

संसदीय प्रणालीमा अर्को समस्या के देखिन्छ भने शासक पार्टीका नेताहरु हरेक नियुक्ती ईत्यादीमा भागवण्डा गर्दछन् । जस्तो की मौजुदा राजनीतिमा देखिएको छ र नीति श्लोकको एउटा अर्थमा तलाउको माछाले कुन बेला पानी पिउछ । त्यो थाहा नभए जस्तै सरकारी धन सम्पत्तिको बाडफाँड गर्ने व्यक्तिहरु कुन बेला धन सम्पत्ति हडप गर्दछन्, त्यो थाहा हुदैन । साथै यस्ता भागवण्डाबाट हुने नियुक्तीहरुमा प्रायः सुयोग्य व्यक्तिहरुको नियुक्ति कमै हुन्छ र चम्चागिरी गर्ने खालका व्यक्तिहरुको नियुक्ति हुने हुनाले त्यस्ताले आफ्नो मालिक पार्टी नेताको गुणगान गर्नु सिवाय सम्बन्धित संस्था तथा देश र जनताको भलो गर्ने  मनसाय राख्दैन । तर ईज्जत कुराहरु सबै नेताहरुमा हुदैन किनकी त्यसो हुने भए संसदीइ व्यवस्थाले लोक प्रीयता पाउने थिएन र समृद्ध देशहरु यस प्रणालीलाई अंगीकार गर्ने थिएनन् ।

इति!
(कञ्चनपुरको पश्चिम नेपाल दैनिकमा २०७३ साउन २३ गते प्रकाशित)

No comments:

Post a Comment