Saturday, August 6, 2016

शहरी क्षेत्रमा करेशाबारी

सर्वप्रथम महेन्द्रनगरको कै कुरा गरौं । केही वर्ष पूर्व महेन्द्रनगरका निवासीहरुलाई जिल्ला कृर्षि विकास कार्यालयबाट स्थानीय बासिन्दाहरुलाई करेशाबारीहरुको लागि तरकारीको बिउ सित्तैमा प्रदान गरिन्थ्यो र यसबाट घर–घरमा तरकारीको उत्पादन बढेको थियो । तर केही वर्षयता यो प्रचलन बन्द गरिएकाले करेशाबारी हुनेहरु पनि प्रायः विउ विजन खरिद गरी तरकारी लगाउने शायद जाँगर नभएकोले हुन सक्छ, त्यस बेला जस्तो शहरी क्षेत्रका करेशाबारीहरुमा तरकारीको उत्पादन भैरहेको देखिएन ।

हालै महेन्द्रनगर निवासी एकजना कृषि अधिकृत श्री देवदत्त कलौनीजीले बोतलहरु समेतमा बोडी, चिचिण्डा आदि लगाई तरकारी लगाउने अभियान सुरु गरेको देखिएकोले यस प्रविधीले ठाउँ कम भएका क्षेत्रमा  पनि त्यँहाका निवासीहरुले तरकारी उत्पादन गर्न सक्ने हौसला प्रदान गरेको छ । वहाँले एउटै दिनमा ४१ वटा चिचिण्डा टिपेर तरकारी बजारमा पठाउनु भएको थियो । 

हालका दिनहरुमा तरकारीको भाउ अत्यन्तै बढेको देखिन्छ । सायद हाम्रो जीवनमा सबै भन्दा बढी महङ्गो देखिएको छ । हुन त सबै थोकमा महङ्गाइ  वृद्धी भएको छ तर जीवनोपयोगी आधारभुत आवश्यकताहरुमा बढेको महङ्गाइले गर्दा सर्वसाधारणको पहुँच नहुनु राम्रो कुरा होईन । हाम्रो नेपालको हिमाली क्षेत्रमा सिजन अनुसार अन्न, तरकारीहरु उत्पादन हुने भएपनि पहाडी र तराई क्षेत्रमा समयानुसार मनग्य तरकारीहरु उत्पादन हुन सक्छ । पहाडी क्षेत्रमा सबै किसिमका तरकारीहरुको उत्पादन हुने गर्दछ । त्यस मध्ये उसकुस तरकारीको विरुवा एकवर्ष लगाए पनि हिफाजत भयो भने २-३ वर्ष पछि फल दिने हुन्छ । अचेल बेमौसमी तरकारीको उत्पादन गर्न सकेमा पनि कृषकले मनग्य आम्दानी गर्न सक्छन् ।
अनि यातायातको सुगमताले गर्दा पहाडी क्षेत्रबाट तराई तर्फ र तराईबाट पहाडी क्षेत्र तर्फ ढुवानी गर्न धेरै समय लाग्दैन । यसकारण वर्षातको समयमा पहाडमा हुन सक्ने तरकारीहरु तराईतर्फ लगाउने गरे उत्पादनहरुलाई पनि प्रसस्त आम्दानी हुने र उपभोक्ताहरुले पनि निरन्तर साग तरकारी पाउने हुनाले भारतको मुख ताक्ने बानीमा कमि आउने थियो कि ?
पूर्वाञ्चलका कतिपय ठाउँहरुमा हालका वर्षहरुमा अन्नोत्पादन भन्दा पनि तरकारी फलफूलबाट ज्यादा आम्दानी हुन सक्ने हुनाले कतिपय कृषकहरु तरकारी फलफुल उत्पादन तर्फ आकर्षित  भईरहेका समाचारहरुबाट देखिन्छन् । तर हाम्रो सुदूरपश्चिम प्रदेशमा धेरै  जसो ठाँउहरुमा सिंचाइको सुविधा समेतका वावजुद कृषकहरुमा परम्परागत खेती अन्न बालीतर्फ मात्र ध्यान जाने देखिएको छ । यसबाट तरकारी तथा फलफुल क्षेत्रमा हामी भारत निर्भर भएका छौ । 

कृषी सेवा केन्द्र, जिल्ला कृषि कार्यालय तथा विभाग आदि सम्बन्धित क्षेत्रबाट पनि राम्रो उत्पादन हुन सक्ने विउ विजन र प्रविधी सुलभ गराई दिनुपर्ने शहरी कोशावारी (करेशाबारी) देखि लिएर ग्रामीण क्षेत्रमा प्रसस्त जग्गा जमीन हुने कृषकहरुले फलफुल तरकारी उत्पादन तर्फ ध्यान दियो भने हामी पनि यस क्षेत्रमा स्वावलम्बी बन्न सक्छौ । र दुर्लभ विदेशी मुद्राको आवश्यकता पनि पर्न नसक्ने तर्फ सम्बन्धित सरकारी क्षेत्र र कृषक समुदायको ध्यान केन्द्रित हुनुप¥यो ।

‘गुड–गुड’ भन्दैमा मुख मीठो हुदैन, मुख मीठो पार्नको लागि मुखमा ‘गुड’ जानु पर्यो । अर्थात स्वाभीमानी भाषणले मात्र देशको स्थिति सुध्रन सक्दैन । तदनुरुप कार्य प्रणाली पनि हुनु पर्यो । हाम्रो कृषी प्रधान देश हो भनिन्छ  तर हामी कति कृषि प्रधान छौं यो कुरा तरकारी र फलफुल आयातले पनि संकेत र व्यङ्ग्य गर्दछ । देशलाई आत्मनिर्भर बनाउनको लागि प्रत्येक क्षेत्रमा उन्नती हुनु पर्दछ । यसका लागि संसारका अन्य राष्ट्रहरुमा भईरहेको कृषि प्रगतीको अवलोकन गरी तदनुसार विउ, विजन विरुवाहरु बाहिरबाट पनि ल्याउनु पर्ने र आफ्नै देश भित्र कहाँ कुन कुरा बढी उत्पादन हुन सक्छ, परिक्षण गरी-गराई जहाँ जसको आवस्यकता छ  त्यहाँ त्यो कुरा त्यहाँ लगाउनु ल्याउनु पनि आवश्यक हुनाले आत्मनिर्भरताको दिशामा यो पहिलो कदम हुन सक्ने छ ।

इति !
(कञ्चनपुरको पश्चिम नेपाल दैनिकमा २०७३ साउन २१ गते प्रकाशित)

No comments:

Post a Comment