Tuesday, August 16, 2016

सुदूरपश्चिम क्षेत्र अब र तब

यो सुदूरपश्चिम क्षेत्र वि.स. १८४७ र १८४९ मा नेपाल अधिराज्यमा गाभिएपछि सुदुर पश्चिमाञ्चल विकाश क्षेत्र सम्बोधित भइ हाल नयाँ संविधान अनुसार सातौं प्रदेशमा गणना गरिन पुगेको छ । यो क्षेत्र सृष्टिकालदेखि नै भारत वर्ष आर्यावर्त रहेको स्कन्दपुराण मानसखण्डको यस श्लोकले पनि दर्शाउछः–

नन्द पर्वत भारभ्य यावत काकगीरी स्मृत ।
तावद्धे मानस खण्डे ख्यायते नृप सत्तम ।।

उक्त मानसखण्ड पुस्तक अनुसार नन्द पर्वत हालको उत्तराञ्चल राज्यमा रहेको र काकगीरी कर्णाली नदी क्षेत्रमा रहेको भनिएको छ । यसका साथै यो क्षेत्र प्राचीन कालमा उत्तरकुरु नामले पनि एक समय प्रख्यात रहेको थियो । पाँचौ शताब्दीका भारतका गुप्त शासकहरु  मध्ये सम्राट कुमार गुप्तको मन्दसौर नामक स्थानमा रहेको यस सिलालेख अनुसार यो क्षेत्र गुप्त साम्राज्य भित्र पनि रहेको देखिन्छ ।

चतुसमुद्रान्त विलोलमेखला, सुमेरु कैलाश बृहत पयोधरा ।
वनान्तवान्त स्फुट पुष्प हासिनी, कुमार गुप्ते पृथीवी प्रशासित ।।

कालान्तरमा गण्डकी नदीसम्मको क्षेत्र कत्युरी साम्राज्य अन्तरगत पर्दथ्यो  र नागराजले जुम्ला सिंजामा राजधानी स्थापित गरेपछि यो सुप क्षेत्रसमेत कुमाउ रगढवाल राज्यहरुसहित जुम्ली खस चल्ल मल्ल साम्राज्य अन्तरगत रहेपनि यो सुप क्षेत्र विधर्मी र विदेशीहरुको अधिन कहिले रहेन । 

तर नेपाल अधिराज्यको ईष्टईन्डिया कम्पनी सरकारसँग भएको युद्धमा नेपालले हार बेहोर्नु परि बिजीत कुमाउ गढवालसहित नयाँ मुलुक भनिने कञ्चनपुर, कैलाली, बाँके र बर्दियाको भू–भाग छोड्नु परेको र ईष्टईण्डिया कम्पनि सरकारका अंग्रेजहरुले यो सुपको तराई क्षेत्र समेत अवधका नवावसँग बेची दिएकोले ४० वर्ष अवधको नवावको अधिन र ५ वर्ष अंग्रेजको अधिन गरी जम्मा ४५ वर्ष विदेशीहरुको अधिन रह्यो । तैपनि सन् १८५९ को गदरयुद्धमा अंग्रेजहरुलाई नेपालले सैनिक सहायता गरेवाफत युद्ध जितेपछि अंग्रेजले नयाँ मुलुक भनिने नेपाली भू–भाग फिर्ता गरेकोले पुनः कैलाली कञ्चनपुर समेत नयाँ मुलुक भनिने क्षेत्र नेपाल अधिराज्यमा गाभिएको थियो। 
यस भन्दा पहिले सुप क्षेत्रमा तीनवटा स्वतन्त्र राज्यहरु अछाम, बझाङ र डोटी थिए । त्यस्तै अछाम राज्य मातहत ५, बझाङ राज्य मातहत ८ र डोटी राज्य मातहत ९ वटा राजा रजवारहरुको शासन थियो । जुन करद राज्य रहेपनि त्यहाँका शासकहरु आफ्नो राज्यमा स्वतन्त्र रुपले शासन चलाउने गर्दथें । जसको प्रमाण बैतडी कुल्लेककोटका रजवार विभोगी चन्द र ढीक रौलाकोटका शासक पनेरुहरुको युद्धमा रजवार विभोगी चन्दले कुमाउ राज्य अलमोडाबाट सातहजार सेना मागेर ल्याई युद्ध विजय गरेको ईतीहास रहेको छ ।

‘वीर योग्या बसुन्धरा’ अर्थात पृथ्वीको योग वीरहरुले गर्दछन भने नीतिको सिद्धान्त अनुसार यो सुप क्षेत्र पनि वीरहरुको अधीन रहदै गरेको भए पनि प्रकृतिले यस क्षेत्रलाई केबल नुन बाहेक जीवनोपयोगी सबैथोक प्रदान गरेको छ । यहाँ सम्मकी हिमाल, पहाड, तराइ तीन भागमा विभाजित सुप क्षेत्रमा सबै प्रकारका जडीवुडी, अन्न, पmलपmुल यथेष्ट मात्रामा उत्पन्न हुने र खानी खनीजका भण्डारहरु पनि प्रसस्त रहेका छन् । वर्तमानमा मानिसहरुको सुविधाभोगी जीवन भएकोले आयातीत सामाग्रीहरुको चलन बढेको भए पनि पुरातन कालखण्डमा भाडाकुडा, बस्त्र, अन्न समेतमा यस क्षेत्रका निवासीहरु आत्मनिर्भर थिए ।

वर्तमानमा नेपालका केही शक्तिवान तर अदुरदर्शी राजनीतिक नेताहरुले गर्दा नेपालमा ८५% प्रतिशत हिन्दु जनता भएर पनि जनमत विना हिन्दु धर्मलाई विस्थापित गरि ‘धर्म निरपेक्षता’ लादी दिएकोले विधर्मीहरुको चलखेलको लागि ढोका खुला गरी दिँदा यस क्षेत्रका केहि अकिंचन, अशिक्षीत, निरिह व्यक्तिहरुलाई विधर्मीहरुका मायाजालमा फसाँई धर्म परिवर्तन गराई रहेका सन्दर्भमा सुपका निवासीहरुले आफ्नो क्षेत्रलाई यस्ता पाखण्डबाट बचाउन र सुप राख्नु पर्ने तथा कतीपय देशहरुमा धार्मिक विखण्डबाट भएका खतरालाई हेरी सुदूरपश्चिमलाई यस्ता धार्मिक संघर्षबाट बचाउन अतिआवश्यक भएको छ । 

एउटा सुखद कुरा के छ भने छिमेकी उत्तराखण्ड राज्यमा राज भाषा सँस्कृतलाई मान्यता दिई आफ्नो धर्म सँस्कृति बचाउने अभ्यास गरिसकेकोले हाम्रो क्षेत्रमा पनि नागरीकहरुमा आफ्नो स्वाभीमान जगाई विधर्मीहरु र उनका एजेन्टहरुबाट देशलाई बचाउन अतिआवश्यक भएको छ ।

इति !
(कञ्चनपुरको पश्चिम नेपाल दैनिकमा २०७३ साउन २८ गते प्रकाशित)

No comments:

Post a Comment