Wednesday, July 13, 2016

भानु जयन्ति र सामयीक साहित्य सृजना

पाश्चात्य साहित्य र अन्य भाषाका साहित्यको कुरा होईन, सँस्कृत साहित्यमा पनि आदिकवि वाल्मीकी ऋषी तथा महर्षी द्धैपायन वेदव्यास एवं आफ्ना समयका महाकवी कालीदास, माघ, भारवी, भवभुति आदि पनि प्रख्यात स्रष्टाहरु हुन । तर भारतमा सँस्कृत भाषाको स्थान हिन्दीले लिएर व्यापक भई सकेपछि महाकवि सन्त तुलसी दास जुन सँस्कृतका पनि धुरन्धर विद्धान थिए । जस्तो की तुलसीकृत रामायणमा लेखिएका उनका सँस्कृत रचनाहरु सँस्कृत साहित्यका अनुपम रचनाहरु छन् । यस्ता सँस्कृतका विद्धानले हिन्दीको व्यापकता बुझेर सँस्कृतमा नलेखी सर्वसाधारणले बुझ्ने गरि हिन्दी (अवधी) भाषामा रामायणको रचना गरेर भने ‘स्वान्त सुखाय तुलसी रघुनाथ गाथा भाषा निवन्ध मति मंजुलमा तनोती’ यस प्रकार उनले सँस्कृत नलेखी सामयिक हिन्दी भाषामा लेखी श्री राम कथालाई विशाल ग्रन्थको रुपमा प्रस्तुत गरी व्यापक तुल्याए ।

हिन्दी भाषाका प्रसिद्ध साहित्यकारहरु धेरै छन् । जसमा आफुले जानेबुझे अनुसार अयोध्या सिंह उपाध्याय ‘हरि औध’को प्रीय प्रवाश नामक रचना ग्रन्थ अनुपम रहेको छ । यसै प्रकार अज्ञेयको ‘शेखर एक जीवनी’ नामक रचनाका पंक्तिहरुको अर्थ दुई पल्ट पढ्नुपर्ने हुन्छ । अन्य प्रख्यात कवि साहित्यकारहरुमा सुमत्रिानन्दन पन्त, महादेवी वर्मा, जयशंकर प्रसाद, भगवती चरण वर्मा, मुन्सी प्रेम चन्द, रामचरी सिंह दिवाकर , निराला आदि पनि कालजयी साहित्यका रचनकार हुन् । तर सन्त तुलसी दासको तुलसी रामायण जस्तो विशाल ग्रन्थ अरु कसैको देखिएन ।
नेपाली भाषाको साहित्यमा त्रिमुर्ती भनिएका  कवि शिरोमणी लेखनाथ पौड्याल, महाकवि लक्ष्मी प्रसाद देवकोटा, नाटककार वालकृष्ण समका रचनाहरु पनि अद्वितीय रहेका छन् । र अन्य कतिपय कवि साहित्यकारहरुका रचनाहरु पनि कालजयी बनेका छन् । तर भानुभक्त आचार्यको रामायण जस्तो विशाल ग्रन्थ नेपाली भाषामा सर्वप्रथम लेखिदिएको हुनाले उनी आदिकविको सम्मानबाट सम्मानित भए । श्री भानुभक्ताचार्य प्रति शिर्षकमा तल लेखिएको कविता २०६१ सालको विविधा कविता संग्रहमा प्रकाशित रचना हो । तर रमाईलो कुरा के छ भने विगत वर्षमा यो लेखक पनि भानुभक्त साहित्य पुरस्कारबाट सम्मानित भएको थियो ।

भाषा साहित्य सारा तबतक थियो औंसीका रात जस्तो,
निन्द्रामा मग्न जस्तै भईकन सुतेको थियो यो समाज  ।। 
देखी यस्तो अँध्यारो यसबीच छटपट गर्दथिन राष्ट्रभाषा,
श्री भानुभक्तजीले झलमल दिनुभो भानु झै स्वप्रकाश ।।
नारदजीलाई लोकको हितगरन भनि सत्य लोकमा पठाई,
रामायणको सरस हरिकथा काव्य दिइ राष्ट्रलाई ।।
नेपाली कण्ठ खोले पुथ्वी भरिमा घन्किईन राष्ट्रवाणी,
काव्यामृत चाखी चाखी रसिक जनहरु तृप्तीपाई रमाए ।।
नेपाली काव्यधारा उद्गम स्थल भो भानुको काव्यसृष्टि,
श्रृङ्गारे राष्ट्रभाषा पछि अरुकविले प्रेरणा पाई जसको ।।
श्री भानुभक्तको यो अनुपम हुनगो राष्ट्रको लागि देन,
श्रद्धाको पुण्य अर्पण युगयुग गर्ला देश नेपाल तिम्रो ।।

उपमा:
भानुभक्त रविचन्द्र सरि लक्ष्मी मोती लेखनाथ ।
तारागण सरि अभ्यकवि गर्छन् सतत प्रकाश ।।

इति !
(कञ्चनपुरको पश्चिम नेपाल दैनिकमा २०७३ असार २९ गते प्रकाशित)

No comments:

Post a Comment