Thursday, July 7, 2016

सुदूरपश्चिममा साहित्य, संगीत र कला

नितिशास्त्रमा लेखिएको छ :–

साहित्य संगीत कला बिहीन
साक्षात पशु पुच्छ विषाण हिन ।।

अर्थात साहित्य, संगीत र कलाबिहीन मनुष्य पुच्छर र सिङ्ग नभएको पशु तुल्य हो । तर सुपमा कला भारत वर्षको कुनै क्षेत्र भन्दा पछाडी थिएन भन्ने कुरा तात्कालिन मुर्ती, शिलालेख तथा चित्रकारीताहरुबाट देख्न सकिन्छ । कला सर्वाधिक प्राचीन अवशेषहरुमा ‘पश्चिम नेपालको मूर्ती तथा वास्तुकला’ नामक श्री डिल्लीराज शर्माद्वारा लिखित एवं नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकमा हेर्न पाईन्छ र बैतडी देवल हाटका शिव मन्दिरहरुका भित्री भागहरुमा निर्मित चित्रहरु भारतका प्रसिद्ध अजन्ता एलोराका चित्रहरु भन्दा कम छैनन् भन्नु अत्युक्ति नहोला ।

यसै प्रकार साहित्यको कुरा गर्दा सुपमा लोक साहित्य जुन श्रुती परम्परामा आधारित थियो । आधुनिक साहित्यको प्रचारप्रसार भन्दा पहिले लोक नृत्य, लोकगीत र जन्मोत्सव व्रतवन्ध विवाह आदि समारोहहरुमा गाईने फाग आदिको दरवेडी तथा गौरा आदि पर्वोत्सवहरुमा गाईने ढव (लय) सुने पछि  कसको मन प्रसन्न मोहित नहोला ? तर छुटफुट र लोकगीतहरुको लिपीवद्ध प्रकाशन गरिए पनि एक जना दिवगंत डा.जयराज पन्तजीले एउटा क्षेत्रको लोकगीत संग्रह लिपीवद्ध प्रकाशन गर्नु भएको बाहेक बाँकी सुपको लोक गीतहरुको सम्पूर्ण लिपीवद्ध र प्रकाशन हुन सकेको देखिएन ।
संगीतको क्षेत्रमा ढोलक, मिजुरा (मजिरा) ईत्यादी पुराना वाद्य सामग्रीहरुबाट तत्कालिन संगीतको शास्त्रको परिपूर्ति गरिन्थ्यो होला । तर तवला, हार्मोनियम, सितार आदिको प्रवेश बिसौं सताब्दीको अन्त्यतिर मात्र सुपमा प्रवेश गरेको बुझिन्छ । इतिहास अनुसार सर्वप्रथम एकजना अछामी राजाले कुमाऊँ राज्यकी राजकुमारीसंग विवाह गर्दा ती राजकुमारीले भित्र्याएको हो र हालसम्म पनि अछामको साँस्कृतिक महोत्सवको रुपमा प्रचलित रहेको छ । सुपका अन्य भागहरुमा श्रीरामलीला र होरी कुमाउबाट धेरैपछि मात्र भित्रिएको बुझिन्छ । होरी कहिलेदेखि प्रचलित रहेको थियो । यसको ईतिहास नदेखिए पनि होरी वा फागु हिन्दु सँस्कृतिको अभिन्न अङ्ग भएकोले सम्भवतः समस्त भारतवर्षमा श्रीकृष्णलीलाको रुपमा पहिलेदेखि नै विद्यमान हुनु पर्दछ । तर रामलीलाको जन्म भारतमा पनि धेरै पछि भएको थियो रे ? त्यँहाबाट प्रसार हुदैं महाकाली नदीको उसपार रहेको कुमाऊँ क्षेत्रबाट यसपार बैतडी क्षेत्रमा विं.स. १९८८ तिर भित्रिएको र पहिलो रामलीला बैतडीको नगतडी गाउँमा भएको थियो भन्ने ईतिहास रहेको छ ।

होरी वा होली फागुन अष्टमीदेखि सुरुकै पूर्णिमासम्म चल्ने र रामलीला प्रायः असोज महिनामा कृषकहरुले धानवाली भित्र्याई सकेपछि मात्रै शुक्लपक्षमा १५ दिनसम्म चल्ने गरिन्थ्यो । नेपालमा माओवादी विद्रोह पश्चात अवरुद्ध रहेको रामलीला नाटक अब आएर कतै–कतै हुन लागेको समाचारहरु सुनिन्छन् । रामलीला नाटक मञ्चनको लागि प्रमुख पात्रहरु सुरुसुरुमा भारततिरबाट ल्याउने गरे पनि पछि आफ्नै क्षेत्रका नवयुवकहरुलाई तालिम गराई नाटक मञ्चन गराउने गरिन्थ्यो । यस लेखकले पनि बैतडीगढी, शाहीलेक, भारत पिथौरागढको वड्डा शहरमा बैतडी मंडाला, सिमायल आदि स्थानहरुमा भएका रामलीला नाटकहरुमा सहभागीता गरेको थियो ।

यसै शिलशिलामा यस सुुप क्षेत्रमा शास्त्रीय संगीतको प्रचारप्रसारमा एकजना भारत कन्नौज शहरबाट आएका उस्ताद बुलाकीराम सुखवासीको नाउँ नलिई यो क्रम अधुरो रहनेछ । उस्ताद बुलाकीराम जे जस्तो कारण परेर नेपालतर्फ  आए पनि उनले आफ्नो बाँकी जीवन यतै गुजारेका थिए । उनले  बैतडी सदरमुकाम क्षेत्रमा बसी श्री मनमोहन खत्री, श्रीराम चन्द्र ओझा, श्री मणीराम लेखक, श्री श्रीराम बोगटी आदि अनेकौं व्यक्तिलाई शास्त्रीय संगीतको शिक्षा दिएका थिए । हुन त त्यस समयमा  बैतडी वमराडा गाउँका श्रीराम चन्द्र ओझा कहाँ भारत हातरस युपीबाट ‘संगीत’ नामक मासिक पत्रिका पनि आउने गर्दथ्यो । जसमा हार्मोनियममा गाइने स्वर वर्णनसहित भजन र गीतहरु पनि राखिएका हुन्थ्ये । यस पत्रिकाबाट पनि धेरै व्यक्तिहरुले रागरागीनीहरुको परिचय पाएका थिए र यिनीमध्ये मनमोहन खत्री भारत पिथौरागढदेखि डोटीसम्म हार्मोनियम बजाउन र गाउनमा प्रसिद्ध थिए र उनका दाजु श्री शिवु खत्री तवला बजाउन उस्ताद मानिन्थे तर दुर्भाग्यले उपरोक्त व्यक्तिहरु अब जीवित छैनन् ।

वर्तमान समयमा पनि संगीत तर्फको आकर्षण सुपमा कम भएको छैन, तर आधुनिक टिभी, सिनेमा, रेडियो, मोबाईल आदिले सरलतापूर्वक मानिसहरु मनोरञ्जन गर्न पाउने हुनाले संगीत सिक्ने र गाउने परिश्रम गर्न विरलै व्यक्ति पाइन्छन् तर संगीत मनुष्य जीवनको रसमय संजीवनी हो र यसले समस्त समाजलाई नैं माधुर्यको अनुभुती गराउँछ एवं परस्पर सौहार्दता तथा प्रेमलाई बढाउछ । यसमा सन्देह छैन ।

यसै संगीत प्रसंगको अछाम तर्फको सन्दर्भमा दिवंगत योगी श्री नरहरी नाथज्यूले लेख्नु भएको यो श्लोक पनि उद्धृत गर्न चाहान्छु;

नाना शिल्पकला नभै अभि नभै न्यायेन गेय दिभी,
विद्या वुद्धि वलमार नन्य विष्य धन्येन धन्वा दिभी ।।
अछाम सकलोत्मना सुकृती नामाच्छाम देशो महान,
क्षाम सम्प्रती लक्षले मिलवती स्वाक्षायता पँचामी ।।

अछाम जिल्लाको प्रशंसामा लेखिएको उपरोक्त श्लोकबाहेक अन्य जिल्लाको प्रशंसामा रचिएका रचनाहरु तत्काल उपलव्ध नहुदा स्वरचित बैतडी जिल्लाको यो कविता प्रस्तुत गर्दछु  ।

बस्छन् श्री जगन्नाथधाम ईश्वरी गंगा जहाँ बग्दछिन् ,
देवी सात वहिनी निवास गर्ने मन्दिर जहाँ पुज्यछिन् ।।
चौलानी महाकाली सुरनया नदी बग्छिन जहाँ हर छडी ,
पावन सुन्दर शान्त भूमी परिचय यीनको हुने  बैतडी ।।

यसै साथ राष्ट्रवन्दनामा समर्पित यो कविता पनिः–

उत्तरमा हिमशैल मन्डितधरा छ मध्य शैवालिक,
अक्षिण भारत पूर्व मेची र महाकाली नदी पश्चिम
बीचबीचमा नदी छन् अनेक जलदा भूमी सदा उर्वरा,
यो हो देश नेपाल मातृ भूमीको गर्छौ नमन बन्दना ।।

(दुबै कविता लेखकको ‘विविधा’ कविता संग्रहबाट)

इति !
(२०७३ आषाढ २० गतेको पश्चिम नेपाल दैनिकमा कञ्चनपुरबाट प्रकाशित)

No comments:

Post a Comment