Monday, July 25, 2016

धर्म के हो ?

संसारमा अनेकौं धर्महरु प्रचलित रहेका छन् र सबै धर्महरुका आ–आफ्ना किसिमका रितीरिवाजहरु कायम छन्। ऋग्वेदमा लेखिएको छ “एक सद् विप्रा वहुधा वदन्ति” अर्थात एउटै ईश्वरलाई विद्धानहरु अनेक नामले सम्बोधन गर्दछन्। तर अनेक नामले सम्बोधन मात्र होईन आराधनाको परिपाटी भिन्न–भिन्न रहेकोले एउटा फिल्मी गीतकारले लेखेका छन्ः–
“ए पाप है क्या, ए पुण्य है क्या 
रितों पर धर्म कि मुहर है !”
अर्थात रिती (चलन)हरुलाई धार्मिक स्वीकृति हुनु नै पाप पुण्यको परिभाषा बन्न पुगेको छ । यसै चलन रीतका कारण कुनै धर्ममा धर्म भनिए पनि अर्को धर्ममा त्यो विषय पाप पनि हुन सक्छ । तर सृष्टिकालदेखि प्रचलित हिन्दु धर्मका व्यवस्थापक महर्षि व्यासको कथन छ:–
“अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय पापाय परपीडनम् ।।”
अर्थात अठार पुराणका रचयिता श्री व्यासको कथन छ, ‘परोपकार नैं पुण्य हो र परपीडन नै पाप हो ।’
धर्मकै विषयमा श्री गीतामा लेखिएको छ । 
वेद प्रणिहितो धर्मोह्य धर्मः स्तोद्वपर्यय ।। गीता ।।
अर्थात वेदहरुबाट प्रमाणित धर्म नै धर्म हो । त्यस्तै महाभारत ग्रन्थमा धर्मको परिभाषा यसरी गरिएको छ । 
धारणात धर्म मित्याहु धर्मोधारयती प्रजाः ।
तस्माद् धारण संयुक्तः सधर्म इति निश्चय ।। 
अर्थात धारण गर्नाले धर्म भनिन्छ, धर्मले प्रजालाई धारण गरेको छ जुन युक्त छ जसबाट समाजमा उछृङ्खलता नबढोस् त्यो धर्म हो । धर्मको लक्षणहरु यस्ता हुन्छन् भनिएको छ :–
धृति क्षमा दया दस्तेयं सोचि मिन्द्रिय निग्रह । 
धी विद्या सत्य मक्रोधो दशकं धर्म लक्षणम् ।। (स्मृती)
अर्थात धैर्य, क्षमा, दया, चोरी नगर्नु, शौच, ईन्द्रिय–निग्रह, वुद्धि, विद्या, सत्य र क्रोध नगर्नु यी दश धर्मका लक्षण हुन । यसै प्रकार :–
अहिंसा सत्य मस्तेय शौच मिन्द्रिय निग्रह ।
दान दया क्षमा क्षान्ति सर्वेणां धर्म साधनम् ।।
अर्थात अहिंसा, सत्यवचन, चोरी नगर्नु, शरीर र मनको शुद्धि, जितेन्द्रीय, दान गर्नु, विपत्तीमा सुरक्षा, अक्रोध यी सबै धर्म साधन हुन् ।

सत्य तप दया शौच तितिक्षेक्षा शमो दम ।
अहिंसा व्रह्मचर्यश्च त्यागः स्वाध्याय आर्जनम् ।।
संतोषः समदृक सेवा ग्राम्य हो परमः शनैः ।
निणा विषायर्भर्य हेक्षा मौनमात्या विमर्शनम् ।।
अन्ना धादिसंविभागो भुतेर्यश्च यथार्हत ।
तेष्वात्म देवता वुद्धि सुतरा नृषु पाण्डव ।।
स्मरणं कीर्तनं चाश्यं श्रवणं महवार्गले ।
सवेज्वाय नतिर्दास्यं सख्यं मात्म समर्पणम् ।।
नृणामय पराधर्मः सर्वेणा समुदाहितः ।
त्रिंस लक्षणवान राजन सर्वात्मा येन तुष्यति ।। (श्रीमदभागवत)
अर्थ सत्य व्यवहार, तप, दया, पवित्रता, सुख–दुःखमा सद्भाव, उचित आहार व्यवहार, जितेन्द्रीय मनमा नियन्त्रण, अहिंसा, व्रह्मचार्य, त्यागवृति, स्वाध्याय, सरलता, संतोषवृति, संतसेवा, भोगविलाशबाट निवृतिको अभ्यास, मौनाभ्यासी, आत्माचिन्तक, सबै प्राणी सेवाभाव र भगवन्नाम स्मरण, श्रवणा, कीर्तन, पूजा, नमस्कार, ईश्वरप्रति सेवाभाव र सखाभाव, वन्दना र समर्पणा यति तीस प्रकारका वैदिक सनातन आर्य धर्म हो ।

यो वानात्मनि वेदात्मा तावानात्मा परात्मनि ।
य एवं सततं वेद सोडमृतत्वाय कल्पते ।। (महाभारत)
अर्थात आफ्नो आत्मा सरह अरुमा पनि आत्मा छ भन्ने विचार राख्ने मनुष्य अमृत्व प्राप्त गर्नमा सर्मथन हुन्छ । तर महाभारत ग्रन्थमा यो पनि लेखीएको छ :–
तर्कोद प्रतिष्ठ श्रुतया यि भिन्ना नैका ऋषियस्य मत प्रमाणम् ।
धर्मस्य तत्वंहितं गुहायाम महाजनोयन गतः सपन्धा ।।
अर्थात तर्कको कतै स्थिति छैन, श्रुतीहरु पनि बिभिन्न छन् । एउटै रीती छैन कि प्रमाण मानियोस् । धर्मको तत्व एकदम गूढ छ । यसकारण जुन बाटो महाजन (महानव्यक्ति) हिड्छन त्यहि मार्ग हो । वेद भन्दछन् :–
वृहाद मिर्मासनमा सिहंसी तचा प्रजा ।। (यजुर्वेद)
अर्थात कसैलाई पनि नमार, हिंसा नगर ।।

हाम्रो समाजमा जगन्माता भगवतीको पूजा आराधना गर्दा प्रायः वलि (प्राणीहत्या) पनि गरिन्छ जुन सराससर पाप कर्म हो र यसरी प्राणीहत्या गर्नेलाई दण्ड स्वरुप नर्कको बास गर्ने गराउने सबै पुराणहरुमा लेखिएको छ । यसै मध्ये श्री देवी भागवतमा लेखिएको यो श्लोक प्रस्तुत छ । 
लोभोसो मरणार्याय जीवितै हंति यो नर ।
मज्जा कुंड वसेत्सोपि तत्भोजी लक्ष वत्सकम् ।।
ततो अवेध शशको मीनश्च सप्त जन्मसु ।
त्रिजन्मानि वराहश्च कुक्कुट सप्त जन्मसु ।।
अर्थात जीवित प्राणीको हत्या गर्ने व्यक्ति लाख वर्षसम्म वोसो, रक्त र पीप भरिएको असूचि नरकमा रहि सात जन्म खरायो, सात जन्म माछा, तीन जन्म सुँगुर र सात जन्म कुखुरा भएर जन्म लिनु पर्दछ । 

आहार निन्द्रा भयमै थुन च समान मेतत पशुमिर्नराणाम् ।
धर्मो हितेषां माधिको विशेष्यो धर्मेणहीनांं पशुमि समाना ।।
अर्थात आहार, निन्द्रा, भय र मैथुन यी सबै थोक मनुष्य र पशुमा समान हुन्छन् । धर्म नै मनुष्यको विशेषता हो । धर्महीन मनुष्य पशुतुल्य हुन्छ तर धर्मान्धता भने राम्रो होईन । धर्मान्धताले आफ्नो र आफ्ना धर्मको लागि एवं संसारको लागि नै दुखदायी बन्दछ । जस्तो की केही मुस्लिम उग्रवादीले संसार भरी गरेका हत्याकाण्डले मुस्लिम धर्मप्रतिको धारणामा सोच्न वाध्य गर्दछ । हालैको बंगलादेशमा गराएको नरसंहारबाट भारत तथा नेपालका समेत हिन्दु वहुल राष्ट्रहरुलाई सर्तक रहन प्रेरित गराएको छ । यसै प्रकार मुस्लिम राष्ट्रहरुका अल्पसंख्यक जनताको भविष्यको विषयमा पनि ती मुस्लिम राष्ट्रहरुप्रतिको बाँकी संसार भरीका जनताहरुको विश्वासमा कमि हुदैँ गएको छ । हिन्दु अतिवादीले पनि हत्या मच्चाएका छन् । तैपनि सबै धर्ममा जगतकै कल्याण होस् भन्ने धारणा पाईन्छ  ।
सर्वे भवन्तु सुखिना सर्वे सन्तु निरामया ।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुख भागमवेत ।।

(कञ्चनपुरको पश्चिम नेपाल दैनिकमा २०७३ साउन १० गते प्रकाशित)

No comments:

Post a Comment