Monday, July 18, 2016

तेस्रा महारथी विरुद्ध मोर्चा

वर्तमान नेपाली राजनीति क्षेत्रमा तीन जना महारथीहरु देखा परेका छन् । ति हुन् , १) प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली, २) माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र ३) वर्तमान काँग्रेस सभापति शेरबहादुर देउवा । सत्तावाला कुर्सीको मोह यस्तो हुनेरहेछ की एक समयका प्रबल विरोधी देउवा र प्रचण्डले सत्ता साझेदारीको लागि गठबन्धन बनाइ प्रधानमन्त्री ओलीलाई पदच्यूत गरि आफूहरु सत्तासीन हुने प्रयत्नमा लागिरहनु भएको छ । तर कतिपय विश्लेषकहरु भन्दछन, ओली सरकारले असहाय बृद्ध भत्ता बढाएको र कर्मचारीहरुको तलब बृद्धि सहित राम्रो बजेट प्रस्तुत गरेकोले वहाँको लोकप्रियतामा हुन लागेको बृद्धिले डराएर नेका र माओवादीहरुले गठबन्धन बनाएको हो । 

आम जनतालाई भने श्री तुलसीकृत रामायणको यो चौपाई जस्तै ‘कोउ नृप हो हि हमे का हानी, चोरी छाडी अब होइ की रानी ।’ अर्थात कुनै शासक भए पनि आम जनतालाई केही फरक पर्ने छैन । किनकी उपरोक्त तीनवटै महारथीहरुको शासनकाल नेपाली जनताले भोगिसकेका छन् । तर यस गठबन्धनमा दुई वटा राजनीतिक शक्ति नेपाली काँग्रेस र माओवादी केन्द्र मध्ये यस गठनबन्धले कसलाई फाइदा हुनसक्छ भने आम जनतामा जुन अड्कल चलिरहेको छ यस सम्बन्धमा धेरैको मत छ कि हुन त दुबै महारथी पुष्पकमल दाहाल 'प्रचण्ड' र शेरबहादुर देउवा, दुबै नेताहरु महाधुरन्धर राजनीतिक खेलाडी हुनुहुन्छ । तैपनि प्रचण्डले गृहयुद्ध छोडी बहुदलीय संसदीय व्यवस्था स्वीकार गरे देखि नै आफ्नो प्रभाव कायम राखी आउनु भएको छ । वहाँको चतुरताको अगाडी वहाँका कुनै साथीहरुको पनि केही चलेन । उदाहरणार्थ वहाँ सशस्त्र द्वन्द्वकालदेखि अहिलेसम्म माओवादी अध्यक्ष पदमा पदासिन हुनुहुन्छ । जोरी खोज्नेहरु बाहिरिएर शक्ति संचयको खोजमा हिडिरहेका छन् । सशस्त्र युद्धबाट संसदीय व्यवस्थामा ससम्मान जानु सानो कुरा होइन । त्यति मात्र नभइ सशस्त्र द्वन्द्वमा अकारण हजारौं नेपालीहरुको अकाल मृत्यु भए पनि वहाँले प्रथम संविधानसभा चुनावमा अरु दल भन्दा आफ्नो दललाई बढी सिट दिलाई सरकार बनाउन समेत सफल हुनु भयो । तर सरकारी सेनापति हात हाल्ने जल्दबाजीले मात्र बहाँले सरकारबाट हट्नु परे जस्तो लाग्दछ । र दोस्रो आम चुनावमा एमाले पार्टीले सरकार बनाए पनि आफ्नो प्रभाव कायम राख्दै आफ्ना दलका सदस्यहरुलाई उपराष्ट्रपति तथा सभामुखमा स्थापित गर्न सफल हुनु भयो । मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रीहरु आफ्ना दलका सदस्यहरुलाई उपप्रधानमन्त्री सहित धेरै मन्त्रीहरु बनाउन पनि सफल हुनु भयो ।
यतिमात्र होइन, १० वर्षे युद्धकालमा भएका अपराधिहरु हेर्ने आयोगले छानविन गर्न लागेपछि केही दिनपूर्व माओवादी मूलधार छोडेर गएका नेता कार्यकर्ताहरुलाई पनि आफ्नो छत्रछायामा शरण दिइ आफ्नो चमत्कारी व्यक्तित्वको प्रदर्शन नेपाली राजनीतिमा देखाउनु भएको छ । अहिले आफ्नो कट्टर विरोधी मानिएको नेपाली काँग्रेससँग गठजोड गरी आफ्नो सबै माग पुरा नगर्ने ओली सरकारलाई अपदस्थ गरी सबक सिकाउने कार्यमा जुट्नु भएको छ । 

तर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि आफ्नो सरकार अल्पमतमा परेको छ भन्दैमा राजीनामा दिने व्यक्ति नभएकोले वहाँले पनि प्रक्रियाद्वारा नै वर्तमान सरकारलाई अपदस्थ गर्नु पर्ने च्यालेन्ज दिइसक्नु भएको छ । माओवादीद्वारा प्रस्तुत अविश्वास प्रस्तावमा छलफल गर्न सभामुख ओनसरी घर्तिमगरले श्रावण ६ गतेको दिन समेत निश्चित गरिसक्नु भएको छ । वर्तमान सरकार पनि ‘रात रहे अग्राख पलाए’ भन्ने नेपाली उखानको चरितार्थ हुने आशामा रहेको देखिन्छ । 

अब रह्यो, नेपाली काँग्रेसको नीति । यस पार्टीले माओवादी प्रभावमा परि धेरै गुमाएको भनिन्छ । किनकी स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पालादेखि अहिलेसम्म माओवादीहरुका एजेन्डामा नेपालको राजनीति चलेको बताइन्छ । अब केही महिना भित्रै आम चुनाव हुने भन्ने निश्चित भइसकेपछि माओवादीको इशारामा गठबन्धनतर्फ नलागी आगामी चुनावको रणनीति तयार गरि निर्वाचन मैदानमा उत्रन सकेमा र नेपाली काँग्रेसले बहुमत प्राप्त गर्न सकेमा नेपालमा स्थिरता आउन सक्ने थियो की भन्ने पनि विश्लेषकहरुको मत रहेको सन्दर्भमा सत्तामा जान हडबडी हुनु नपर्ने हो भनिए पनि नेका नेताहरुको कुनै लक्ष्य साधन हो की ? यो भविष्यले बताउला । 

(कञ्चनपुरको पश्चिम नेपाल दैनिकमा २०७३ साउन २ गते प्रकाशित)

No comments:

Post a Comment